Breaking Nepal

सप्तरी । सप्तरीमा एक किशोरको शव मोटरसाइकलमा बोकेर भाग्ने क्रममा एक भारतीय नागरिक पक्राउ परेका छन्। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार छन्। प्रहरीले घटना दुर्घटना हो वा योजनाबद्ध हत्या भन्ने विषयमा दुवै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजार क्षेत्रमा १४ वर्षीय मोहम्मद सादिकको मृत्यु भएपछि उनको शव मोटरसाइकलमा राखेर लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक शम्भुनाथ नगरपालिका–५ मोहनपुरका मोहम्मद सदामका एक्ला छोरा हुन्।
प्रहरीले भारतको बिहार राज्य, मधुवनी जिल्ला खतौनी पिपराहीका २८ वर्षीय मोहम्मद सादर नटलाई पक्राउ गरेको छ। घटनामा संलग्न अर्का व्यक्ति फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले शंकास्पद रूपमा गुडिरहेको बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकल पछ्याएको थियो। त्यसक्रममा मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा खडक नगरपालिका–१ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्ने प्रयास गरेका थिए।
स्थानीयवासीको सहयोगमा एक जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। फरार व्यक्तिको खोजी जारी रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका–५ स्थित सत्रुघ्न चोकमा सञ्चालन भइरहेको ‘सोनु मिट हाउस’मा काम गर्दै आएका थिए।
घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा करिब आधा घण्टा सडक अवरुद्ध गरेका थिए। प्रहरीले वार्ता र सुरक्षा व्यवस्थापछि सडक सञ्चालनमा ल्याएको जनाएको छ।