मार्टसले गठन गर्‍यो सात विधाका क्लब, अतिरिक्त गतिविधिमार्फत दक्ष जनशक्ति उत्पादनमा जोड

Breaking Nepal

बिहीबार ,असार ३२ , २०८३ १४:०७

विराटनगर /  विराटनगर–१० स्थित मार्टस मेमोरियल प्लसटुले विद्यार्थीको नेतृत्व क्षमता, सिर्जनशीलता तथा व्यक्तित्व विकासलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न अतिरिक्त तथा सहपाठ्य गतिविधिअन्तर्गतका क्लब गठन गरेको छ ।

संस्थाले विराटनगरस्थित महेन्द्र होटलमा आयोजित कार्यक्रममा साहित्य, रंगमञ्च, मोडलिङ, खेलकुद, एआई तथा रोबोटिक्स, भलिबल, अभिनय, फोटोग्राफीलगायत विभिन्न विधाका क्लब गठन गर्दै सम्बन्धित क्लबका अध्यक्ष तथा संयोजकलाई जिम्मेवारी हस्तान्तरण गरेको हो। नवगठित पदाधिकारीलाई संस्थाका अध्यक्ष विष्णु डङ्गोल र प्रिन्सिपल सीएम श्रेष्ठले संयुक्त रूपमा खादा ओढाएर सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल श्रेष्ठले अतिरिक्त तथा सहपाठ्य गतिविधिले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले आगामी एक वर्षभित्र राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा संस्थाका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

प्लसटु निर्देशक अर्जुन श्रेष्ठले सहपाठ्य तथा अतिरिक्त क्रियाकलापको महत्वबारे विद्यार्थीलाई उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यार्थीले पनि क्लबमार्फत आफ्ना क्षमता अभिवृद्धि गर्ने अपेक्षा व्यक्त गर्दै आ–आफ्ना धारणा राखेका थिए ।

स्थापनाकै पहिलो वर्षमा ७५० भन्दा बढी विद्यार्थीलाई भर्ना गरी शैक्षिक सेवा प्रदान गरिरहेको मार्टस मेमोरियल प्लसटुले गुणस्तरीय शिक्षासँगै साहित्य, रंगमञ्च, खेलकुद, प्रविधि तथा अन्य सिर्जनात्मक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसहित क्लब गठन गरिएको जनाएको छ ।

कार्यक्रममा संस्थाका सञ्चालक इन्द्र राई, नगेन्द्रप्रसाद ढकाल, नन्दलाल मण्डल, हिरा थापालगायत शिक्षक, विद्यार्थी तथा विभिन्न क्लबमा आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो ।