कोशीमा धान रोपाइँ ५५ प्रतिशत नजिक, मल अभावले किसान चिन्तित

Breaking Nepal

बिहीबार ,असार ३२ , २०८३ १४:२८

विराटनगर / मनसुन सक्रिय भएसँगै कोशी प्रदेशमा धान रोपाइँले उल्लेखनीय गति लिएको छ। असारको अन्तिम सातामा भएको पर्याप्त वर्षापछि रोपाइँको दर एक सातामै करिब २३ प्रतिशतले बढेको छ । तर, रोपाइँ तीव्र भइरहेका बेला रासायनिक मलको अभावले किसानको चिन्ता भने झन् बढेको छ ।

कृषि विकास निर्देशनालय, विराटनगरका अनुसार असार २२ गतेसम्म प्रदेशमा ३१.९४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपिएको थियो । नियमित वर्षापछि असार २९ गतेसम्म रोपाइँको प्रगति बढेर ५४.८६ प्रतिशत पुगेको छ ।

प्रदेशभर धान खेतीयोग्य २ लाख ७६ हजार ४५६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ लाख ५१ हजार ६१९ हेक्टरमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ । असारको अन्तिम सातालाई धान रोपाइँको मुख्य समय मानिने भएकाले अधिकांश जिल्लामा किसान खेतमै व्यस्त देखिएका छन् ।

भौगोलिक क्षेत्रअनुसार मध्य पहाडी भेगमा सबैभन्दा बढी ६१.०९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । झापा, मोरङ र सुनसरी रहेको तराई क्षेत्रमा ५३.६६ प्रतिशत तथा उच्च पहाडी जिल्लाहरूमा ४२.५१ प्रतिशत रोपाइँ सकिएको तथ्याङ्कले देखाएको छ ।

जिल्लागत रूपमा खोटाङमा सबैभन्दा बढी ७५.३६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सोलुखुम्बु र भोजपुरमा समान ७५ प्रतिशत प्रगति भएको छ । तराईका जिल्लामध्ये झापामा ६१.८० प्रतिशत, सुनसरीमा ५२ प्रतिशत र मोरङमा ४६ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ ।

यस वर्ष मनसुन अपेक्षाकृत समयमै सक्रिय भई नियमित वर्षा भएपछि आकाशे पानीमा निर्भर किसानलाई राहत पुगेको छ। वर्षाले खेतमा पर्याप्त चिस्यान उपलब्ध गराएसँगै रोपाइँले तीव्रता पाएको हो ।

तर, प्रकृतिले साथ दिए पनि सरकारी आपूर्ति प्रणालीले किसानलाई निराश बनाएको छ। रोपाइँको मुख्य सिजनमै रासायनिक मलको अभाव चुलिँदा कृषकले उत्पादन घट्ने चिन्ता व्यक्त गरेका छन् ।

विशेषगरी धान रोपाइँका बेला अत्यावश्यक मानिने डीएपी मल बजारमा अभावग्रस्त छ। रोपाइँ सम्पन्न गरेका किसान यतिबेला युरिया मलको खोजीमा छन् । तर, सरकारी डिपो र सहकारी संस्थामा समेत मलको मौज्दात सकिएको अवस्था रहेको किसानहरूको गुनासो छ ।

हरेक वर्ष समयमै मल उपलब्ध गराउने सरकारी प्रतिबद्धता दोहोरिए पनि मुख्य कृषि सिजनमा किसानले उही समस्या भोग्नुपरेको छ। समयमा आवश्यक मल प्रयोग गर्न नपाए धानको उत्पादनमा प्रत्यक्ष असर पर्ने भन्दै कोशीका कृषकले तत्काल सहज आपूर्तिको माग गरेका छन् ।