Breaking Nepal

विराटनगर / देशभर मनसुनी प्रणाली सक्रिय रहँदा बिहीबार कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यूनचापीय रेखा औसत अवस्थामै रहेको छ । यसको प्रभावका कारण कोशी प्रदेशसहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
हाल कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही जिल्लामा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। रातिको समयमा पनि कोशी प्रदेशसहित देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने र पहाडी तथा हिमाली भूभागमा वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ ।
महाशाखाले लगातारको वर्षाका कारण कोशी प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम रहने तथा कमजोर भू–बनोट भएका बस्तीमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
यस्तै, वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य सेवा तथा पर्वतारोहणजस्ता क्षेत्रमा समेत प्रत्यक्ष प्रभाव पर्न सक्ने भएकाले यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्दा मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।