Breaking Nepal

नेपालगञ्ज — बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय ५०० रुपैयाँका नोटसहित नियन्त्रणमा लिइएको हो।
प्रहरी उपरीक्षक अङ्गुर जिसीले बसपार्क क्षेत्रमा अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा लुकाएर राखिएको अवस्थामा उक्त रकम बरामद भएको जानकारी दिए।
प्रहरीका अनुसार नेपालमा भारतीय ५०० रुपैयाँका नोटको कारोबार प्रतिबन्धित भएकाले नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
यता, न्यू लक्ष्मी होटेल एण्ड लजका सञ्चालक धर्मराज बस्नेतले भने जाजरकोटाबाट आएका ठेकेदारका करिब ५० जना श्रमिकलाई भारतीय रुपैयाँ आवश्यक परेकाले रकम सङ्कलन गरी सटहीका लागि कर्मचारीमार्फत पठाइएको दाबी गरेका छन्।