Breaking Nepal

विराटनगर / झापाको दमकमा कारले साइकललाई ठक्कर दिएपछि भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बुधबार साँझ दमक–४ भाइरलरोडस्थित संगम चोकमा आम्दा अस्पतालबाट ताराबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित बनेको साइकल प्र १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा साइकलयात्री दमक–३ निवासी ५३ वर्षीय रनबहादुर विष्ट गम्भीर घाइते भएका थिए। उनको आम्दा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान करिब ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक मेचीनगर–८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेत सामान्य घाइते भएका छन्। उनको आम्दा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न कार, साइकल, मोटरसाइकल तथा कार चालक मोरङको उर्लाबारी–७ निवासी ४० वर्षीय नेत्रप्रसाद तिम्सिनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार कारको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ।