Breaking Nepal

विराटनगर / कोशी प्रदेशका तेह्रथुम र मोरङमा भएका छुट्टाछुट्टै घटनामा दुई महिलाको ज्यान गएको छ। तेह्रथुममा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ भने मोरङमा करेन्ट लागेर अर्की महिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
तेह्रथुमको आठराई नगरपालिका–६ सिमखर्क निवासी ५१ वर्षीया रूपा लिम्बूको बुधबार राति हत्या भएको हो। प्रहरीका अनुसार राति करिब ११ बजेतिर सोही स्थानका ३८ वर्षीय कृष्णबहादुर लिम्बूले रूपाको घाँटीमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते भएकी रूपाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनामा संलग्न कृष्णबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यता, मोरङको उर्लाबारी नगरपालिका–४ खुर्सानीबारीमा करेन्ट लागेर ६५ वर्षीया पवित्रा बास्तोलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६:१५ बजे आफ्नै घरमा रहेको घाँस काट्ने विद्युतीय मेसिन सञ्चालन गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएकी बास्तोलालाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीले दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।