Breaking Nepal

विराटनगर / पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक नाका मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलन बढाए पनि सरकारले दिएको वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। आयातमा आएको संकुचन, पेट्रोलियममा गरिएको कर छुट तथा केही प्रमुख वस्तुको आयात घट्दा भन्सारको राजस्व संकलन लक्ष्यभन्दा करिब १ अर्ब २० करोड रुपैयाँ कम भएको हो।
भन्सार विभागले गत आर्थिक वर्षका लागि मेची भन्सारलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर कार्यालयले १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। यो लक्ष्यको करिब ९३ प्रतिशत हो।
यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा राजस्व संकलनमा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएकोमा गत वर्ष करिब १ अर्ब ७४ करोड ६० लाख रुपैयाँ थपिएको छ। यसले वार्षिक रूपमा करिब ११ प्रतिशत वृद्धि भएको देखाउँछ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सरकारले पेट्रोलियम पदार्थमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेपछि राजस्वमा प्रत्यक्ष असर परेको हो। यसअघि प्रतिलिटर १० रुपैयाँका दरले उठाइँदै आएको पूर्वाधार विकास कर घटाएर ५ रुपैयाँ कायम गरिएकाले राजस्व संकलन प्रभावित भएको उनले बताए।
उनका अनुसार पेट्रोलियम पदार्थको आयात घट्नु, निर्माण क्षेत्रमा प्रयोग हुने बिटुमिन तथा अलकत्राको माग कम हुनु, सुपारीजस्ता वस्तुको तेस्रो मुलुकबाट हुने आयात ठप्पजस्तै हुनु र समग्र अर्थतन्त्रमा देखिएको मन्दीले पनि राजस्व लक्ष्य हासिल गर्न कठिन भएको हो।
भन्सार कार्यालयले लक्ष्य पूरा गर्न विभिन्न प्रशासनिक तथा व्यवस्थापकीय उपाय अपनाए पनि आर्थिक गतिविधिमा आएको सुस्तताले अपेक्षित परिणाम दिन नसकेको राईको भनाइ छ। उनका अनुसार खुला सीमाको फाइदा उठाउँदै हुने चोरी पैठारीले समेत वैधानिक आयात घटाउँदा राजस्व असुलीमा दबाब परेको सरोकारवालाको विश्लेषण छ।
भारतको पश्चिम बंगालस्थित पानीट्याँकी–रानीगञ्ज नाकासँग जोडिएको मेची भन्सार पूर्वी नेपालको प्रमुख व्यापारिक प्रवेशद्वार हो। यही नाकामार्फत भारत, चीन, बंगलादेश, भुटान तथा अन्य तेस्रो मुलुकसँग आयात–निर्यात हुँदै आएको छ। विराटनगर भन्सारपछि कोशी प्रदेशमा सबैभन्दा बढी वैदेशिक व्यापार यही नाकाबाट हुने सरकारी तथ्यांकले देखाउँछ।
यस नाकाबाट नेपालबाट चिया, अलैंची, अदुवा, अम्रिसोको कुचो, छुर्पी, मुसुरो दाल, भेनियर सिट, चोकर, आलस, खयर कत्था, जडीबुटी, सुठो, सुंगुर, प्लाइउड र क्राफ्ट पेपर लगायतका वस्तु निर्यात हुने गरेका छन्। त्यस्तै पेट्रोलियम पदार्थ, एलपी ग्यास, मट्टितेल, तयारी पोशाक, सिमेन्ट क्लिङ्कर, सुती कपडा, ग्लेज टायल, लुब्रिकेन्ट, मोटर ब्याट्री, प्लास्टिक ट्युब लगायतका वस्तु आयात हुने गरेका छन्।
वि.सं. २०१३ मा स्थापना भएको मेची भन्सार कार्यालय हाल राजस्व संकलनका आधारमा देशका प्रमुख भन्सार कार्यालयमध्ये नवौं स्थानमा रहेको छ। भुटान, बंगलादेश तथा भारतका पश्चिम बंगाल, सिक्किम र आसामसँगको व्यापारका लागि रणनीतिक महत्व बोकेको यस नाकाको राजस्व प्रदर्शनले समग्र राष्ट्रिय राजस्व संकलनमा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।