Breaking Nepal

विराटनगर / सिरहाको लहान नगरपालिका–३ स्थित नयाँ बस्ती टोलमा नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको अपरेशनमा प्रहरीले एक पिकअप गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा ४६ वटा नास्पातीका क्रेटभित्र बोरामा लुकाइएको गाँजा फेला परेको हो।
प्रहरीका अनुसार बरामद गाँजाको तौल प्लास्टिकसहित ६६३ केजी रहेको छ भने प्लास्टिक हटाउँदा ६५२ केजी पुगेको छ। त्यससँगै करिब ९ हजार ९२० केजी नास्पाती समेत नियन्त्रणमा लिइएको छ।
घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको हो। पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीले गाँजाको स्रोत, गन्तव्य तथा यससँग संलग्न अन्य व्यक्तिको पहिचानका लागि अनुसन्धानलाई थप विस्तार गरिएको जनाएको छ। बरामद भएको पिकअप, गाँजा र अन्य सामग्री कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।