Breaking Nepal

विराटनगर। विराटनगर विमानस्थलबाट काठमाडौं प्रस्थान गर्ने क्रममा स्रोत पुष्टि हुन नसकेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित एक सरकारी कार्यालयका प्रमुख पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख तथा उपसचिव मिक्मार तामाङ रहेका छन्। दोलखा भिमेश्वर नगरपालिका–९ स्थायी घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका थिए।
विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा तामाङले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको नगद फेला परेको थियो। बरामद रकममध्ये एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट रहेको प्रहरीले जनाएको छ।
सुरक्षा जाँचका क्रममा रकमको स्रोतबारे सोधपुछ गर्दा तामाङले विश्वसनीय विवरण प्रस्तुत गर्न नसकेपछि विमानस्थल सुरक्षा इकाइले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएको स्रोतले जनाएको छ।
घटनापछि प्रहरीले रकमको स्रोत, प्रयोगको उद्देश्य तथा त्यससँग सम्बन्धित आर्थिक कारोबारबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
यद्यपि, यति ठूलो परिमाणको स्रोत नखुलेको नगद बरामद भएको घटनामा जिल्ला प्रहरीले हालसम्म औपचारिक रूपमा कुनै पत्रकार सम्मेलन वा विज्ञप्ति सार्वजनिक गरेको छैन। सामान्यतया यस्ता प्रकृतिका घटनामा प्रहरीले तत्काल सार्वजनिक जानकारी दिने अभ्यास रहे पनि यस घटनामा भने आधिकारिक जानकारी बाहिर नआएको हो।
यसबीच, तामाङले बरामद भएको रकम आफन्तको भएको र काठमाडौं लैजान लागेको प्रारम्भिक स्पष्टीकरण दिएको प्रहरी स्रोतले जनाएको छ। उक्त दाबीको सत्यता तथा रकमको वास्तविक स्रोतबारे अनुसन्धान जारी रहेको बताइएको छ।
यस घटनालाई लिएर विभिन्न अड्कलबाजी सार्वजनिक भए पनि आर्थिक वर्षको अन्त्यसँग जोडिएका कमिसन वा अन्य आर्थिक अनियमिततासम्बन्धी दाबीहरू हालसम्म कुनै आधिकारिक निकायबाट पुष्टि भएका छैनन्। अनुसन्धानको निष्कर्षपछि मात्र घटनाको वास्तविकता स्पष्ट हुने प्रहरी स्रोतको भनाइ छ।