देशभर मनसुनी प्रभाव कायम, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

Breaking Nepal

शनिबार ,साउन ९ , २०८३ ०७:५७

काठमाडौं– देशभर मनसुनी वायु सक्रिय रहेकाले शनिबार पनि अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी क्षेत्रमा औसत अवस्थामै रहेको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने तथा केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही जिल्लामा पनि वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ।

रातिको समयमा पनि देशभर बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।

मौसमविद्ले निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। साथै कृषि, सडक तथा हवाई यातायात, पर्यटन र पर्वतारोहण गतिविधिमा समेत मौसमको प्रत्यक्ष प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।