Breaking Nepal

विराटनगर / विद्यार्थीको नेतृत्व क्षमता, तर्कशक्ति, अभिव्यक्ति कला तथा सिर्जनशील प्रतिभालाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित मार्टस मेमोरियल प्लस टुले सञ्चालन गरेको ‘मार्टस प्राइम’ कार्यक्रमअन्तर्गत वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयमा कक्षा ११ मा अध्ययनरत ७ सय ७७ विद्यार्थीमध्ये रुचि र क्षमता भएका विद्यार्थीलाई छनोट प्रक्रियामार्फत प्रतियोगितामा सहभागी गराइएको विद्यालयले जनाएको छ। कार्यक्रमले विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्दै उनीहरूको बहुआयामिक प्रतिभालाई उजागर गर्ने लक्ष्य लिएको छ।वक्तृत्वकला प्रतियोगितामा २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए। प्रारम्भिक चरणको प्रतिस्पर्धापछि उत्कृष्ट १० जना विद्यार्थी दोस्रो चरणका लागि छनोट भएका छन्। प्रतियोगिता तीन चरणमा सञ्चालन हुने जनाउँदै विद्यालयले दोस्रो चरणबाट उत्कृष्ट पाँच जनालाई फाइनलका लागि छनोट गरिने जानकारी दिएको छ। फाइनलअघि छनोट भएका विद्यार्थीलाई विशेष प्रशिक्षणसमेत प्रदान गरिनेछ।

प्रतियोगिताको मूल्याङ्कन साहित्यकार तथा सञ्चारकर्मी मीनकुमार नवोदित र सञ्चारकर्मी जेनिस कोइरालाले गरेका थिए।
यस्तै, हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका पाँच टोली सेमिफाइनलमा पुगेका छन्। विद्यालयका अनुसार सेमिफाइनलमा तीन वटा ‘वाइल्ड कार्ड’ टोलीलाई समेत अवसर दिइनेछ। त्यसपछि उत्कृष्ट पाँच टोलीसँग थप एक वाइल्ड कार्ड टोली समावेश गरी कुल छ टोलीबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ।

विद्यालयले ‘मार्टस प्राइम’ अन्तर्गत आगामी दिनमा कविता, अभिनयलगायतका बौद्धिक तथा सिर्जनात्मक प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। त्यसैगरी ‘मार्टस च्याम्प’ कार्यक्रममार्फत नृत्य, गायन, मोडलिङसहित विविध प्रतिभामूलक प्रतिस्पर्धा सञ्चालन गरिने जनाएको छ।
विद्यालयका प्रिन्सिपल सीएम श्रेष्ठका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीभित्र रहेको अन्तर्निहित क्षमता पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्षम बनाउनु हो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई नगद पुरस्कार र छात्रवृत्तिसमेत प्रदान गरिने उनले बताए।

विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, सार्वजनिक बोल्ने सीप, सिर्जनशील सोच र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।