एसीसी महिला प्रिमियर कप : भुटानमाथि नेपालको लगातार दोस्रो जित, समूहको शीर्ष स्थानमा उक्लियो

Breaking Nepal

बिहीबार ,जेष्ठ २१ , २०८३ १०:४५

काठमाडौं / एसीसी महिला प्रिमियर कपमा नेपालले विजयी यात्रालाई निरन्तरता दिँदै लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार समूह ‘डी’ अन्तर्गत भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको हो।

मलेसियास्थित कोल्जे टुंगुर जाफर ओभलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटान निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६२ रनमा सीमित भयो। भुटानका लागि डिचेन वाङ्गमोले अविजित ३९ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय साथ दिन सकेनन्। चाडो ओमले ११ रन जोड्दा बाँकी खेलाडी एकल अंकमै समेटिए।

नेपालको जितमा कप्तान रुबिना क्षेत्री नायिका बनिन्। उनले तीन विकेट हात पार्दै भुटानी ब्याटिङ लाइनअपलाई दबाबमा राखिन्। रिया शर्माले दुई विकेट लिँदा कविता कुँवर र मनीषा उपाध्यायले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो। नेपालको इनिङ्समा सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन्। रुबिना क्षेत्रीले २४ रन जोड्दा सोनी पाख्रिनले १३ तथा सम्झना खड्काले १० रन बनाइन्।

भुटानका बलर छिरिङ जाङ्गमो र सोनामले समान तीन–तीन विकेट लिए। अन्जु गुरुङले दुई तथा रित्शी छोडेन र रिया प्रधानले एक–एक विकेट हात पारे।

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट चार अंक बटुल्दै समूह ‘डी’ को शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ। भुटान भने लगातार दोस्रो हारसँगै अंकविहीन रहेको छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो। भुटान भने उद्घाटन खेलमा हङकङसँग १४ रनले पराजित भएको थियो। नेपाल अब समूह चरणको बाँकी खेलमा पनि लय कायम राख्दै सुपर चरणको सम्भावना थप बलियो बनाउने लक्ष्यमा हुनेछ।