Breaking Nepal

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी संवाद सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले दुई देशबीच समझदारी कायम भए रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्ग तत्काल सञ्चालनमा आउने दाबी गरेका छन्। यद्यपि, वार्ता सफलतामा पुग्नेबारे अहिले नै निश्चितता नरहेको उनको भनाइ छ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको संवाद अपेक्षाअनुसार अघि बढिरहेको उल्लेख गरे। उनका अनुसार सबै प्रक्रिया योजनाबमोजिम अगाडि बढे निकट भविष्यमा उल्लेखनीय प्रगति देखिन सक्छ। तर वार्ताको प्रकृति संवेदनशील भएकाले अन्तिम नतिजाबारे अहिले नै ठोस निष्कर्ष निकाल्न नसकिने उनले स्पष्ट पारे।
ट्रम्पले सम्भावित समझदारीपत्रमा हस्ताक्षर भएसँगै होर्मुज जलमार्गमा समुद्री यातायात पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने बताए। उनले जलमार्गको सुरक्षाका लागि समुद्री क्षेत्रमा रहेका बारुदी सुरुङ हटाउने तयारीस्वरूप अमेरिकी पक्षले आवश्यक जहाजहरू परिचालन गरिसकेको जानकारी दिए।
उनले इरानद्वारा सम्वर्धित युरेनियमको व्यवस्थापन पनि वार्ताको महत्वपूर्ण विषय रहेको उल्लेख गरे। उक्त सामग्री सुरक्षित रूपमा नियन्त्रण र व्यवस्थापन गर्न सक्ने क्षमता अमेरिका र चीनसँग मात्र रहेको दाबी गर्दै त्यसलाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास जारी रहने बताए।
यता इरानी पक्षले भने वार्ताप्रति सावधानीपूर्ण धारणा व्यक्त गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इरानबीच सम्पर्क तथा संवाद जारी रहे पनि हालसम्म कुनै ठोस उपलब्धि हासिल नभएको बताएका छन्।
उनका अनुसार इरानी जनताको अधिकार सुनिश्चित हुने वातावरण, लेबनानमा जारी द्वन्द्वको अन्त्य तथा क्षेत्रीय तनाव न्यूनीकरणका लागि विश्वसनीय आधार तयार भएपछि मात्र औपचारिक वार्ताले गति लिन सक्नेछ। इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षा चासोलाई केन्द्रमा राखेर मात्रै आगामी निर्णय गर्ने संकेत दिएको छ।
विश्लेषकहरूका अनुसार अमेरिका–इरान सम्बन्धमा सम्भावित प्रगति भए मध्यपूर्वको सुरक्षा अवस्था, ऊर्जा आपूर्ति शृङ्खला तथा अन्तर्राष्ट्रिय समुद्री व्यापारमा सकारात्मक प्रभाव पर्न सक्छ। विशेषगरी विश्व ऊर्जा बजारका लागि संवेदनशील मानिने होर्मुज जलमार्गको सञ्चालन सामान्य बन्नु विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण विषयका रूपमा हेरिएको छ।