मेरिल्याण्ड कलेजको अभिमुखीकरणमा ८ सयभन्दा बढी विद्यार्थी सहभागी, ड्रोनमार्फत स्वागत र सांस्कृतिक प्रस्तुतिले थप्यो कार्यक्रमको रौनक

Breaking Nepal

बिहीबार ,जेष्ठ २१ , २०८३ १२:३०

विराटनगर / विराटनगरस्थित मेरिल्याण्ड कलेजले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीहरूका लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । करिब ८ सयभन्दा बढी विद्यार्थीको सहभागितामा आयोजित उक्त कार्यक्रम चर्चित हाँस्यकलाकार मनोज गजुरेलको विशेष उपस्थितिले थप आकर्षक र मनोरञ्जनात्मक बनेको थियो ।

कार्यक्रममा कलेजले शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मानसमेत गरेको छ । ३.९० भन्दा माथि जीपीए ल्याउने तथा प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेल, हाँस्यकलाकार मनोज गजुरेल, कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल, सञ्चालक समितिका अध्यक्ष गुणराज ढुङ्गेल, निर्देशक पीके झा तथा भेषराज पोखरेललगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले गुणस्तरीय माध्यमिक शिक्षा आजको प्रतिस्पर्धात्मक युगमा सफलताको आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई अनुशासित, लक्ष्यकेन्द्रित र प्रविधिमैत्री अध्ययनतर्फ अग्रसर हुन सुझाव दिए । उनीहरूले मेरिल्याण्ड कलेजले विज्ञान र व्यवस्थापन दुवै धारमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले तयार पारेको ड्रोनमार्फत पुष्पवृष्टि गराएर अतिथि तथा आगन्तुकहरूलाई स्वागत गरिएको थियो । कलेजमा अध्ययनरत विद्यार्थीहरूले विकास गरेको उक्त ड्रोनले आगन्तुकलाई स्वागत गर्दै प्रविधि र नवप्रवर्तनतर्फ कलेजको अग्रसरता झल्काएको सहभागीहरूले बताएका छन् । यसले विज्ञान र प्रविधिमा विद्यार्थीको व्यावहारिक ज्ञान तथा सिर्जनात्मक क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको थियो ।

त्यसैगरी, कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य तथा प्रस्तुति पनि प्रदर्शन गरेका थिए । विभिन्न जातीय र सांस्कृतिक झल्को दिने प्रस्तुतिहरूले कार्यक्रमलाई थप रंगीन र उत्साहपूर्ण बनाएको थियो । नयाँ विद्यार्थीहरूले कलेज जीवनको प्रारम्भमै यस्तो भव्य स्वागत पाउँदा उत्साह बढेको प्रतिक्रिया दिएका छन् ।

कलेज प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार, अभिमुखीकरण कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई शैक्षिक वातावरण, अनुशासन, परीक्षा प्रणाली, अतिरिक्त क्रियाकलाप तथा भविष्य निर्माणका अवसरबारे स्पष्ट जानकारी दिनु हो । कलेजले विज्ञान र व्यवस्थापन संकायमा आधुनिक प्रयोगशाला, डिजिटल सिकाइ प्रणाली तथा अतिरिक्त सीप विकास कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आएको पनि जनाएको छ ।

कार्यक्रमलाई अझ रोचक बनाउन हाँस्यकलाकार मनोज गजुरेलले आफ्ना व्यङ्ग्यात्मक प्रस्तुति र प्रेरणादायी संवादमार्फत विद्यार्थीहरूलाई उच्च लक्ष्य राख्दै अघि बढ्न प्रेरित गरेका थिए ।

कलेजका प्रिन्सिपल ढकालले मेरिल्याण्डलाई केवल शैक्षिक संस्था मात्र नभई सिर्जनशीलता, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले विद्यार्थीहरूको प्रतिभा विकासका लागि आगामी दिनमा अझ व्यापक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

यस प्रकारको अभिमुखीकरण कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेज जीवनसँग सहज रूपमा अभ्यस्त हुन सहयोग पुग्ने विश्वास कलेज प्रशासनले व्यक्त गरेको छ ।