दमककी रमा तिवारी हत्या आरोपमा भारतीय नागरिक पक्राउ, यौन सम्पर्कपछि विवाद चर्किँदा हत्या गरेको प्रहरीको निष्कर्ष

Breaking Nepal

शुक्रबार ,जेष्ठ २२ , २०८३ १९:१४

विराटनगर / झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी (रोमा) हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शव फेला परेको करिब १० दिनपछि प्रहरीले घटनाको अनुसन्धान महत्वपूर्ण निष्कर्षमा पुर्‍याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारतको अररिया घर भई हाल दमकमा बसोबास गर्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको छ। उनीविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको झापा प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले बताइन् ।

प्रहरीका अनुसार पण्डित दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानसम्बन्धी ठेक्कापट्टाको काम गर्दै आएका थिए । अनुसन्धानका क्रममा मृतक तिवारी र पण्डितबीच पुरानो चिनजान रहेको तथा घटना हुनुअघि उनीहरूबीच भेटघाट भएको पुष्टि भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा दुवैबीच दुई पटक यौन सम्पर्क भएको र त्यसबापत पण्डितले तिवारीलाई दुई हजार रुपैयाँ दिएको खुलेको छ। सोही रकमलाई लिएर दुवैबीच विवाद सुरु भएको र विवाद चर्किँदै जाँदा पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको प्रहरीको निष्कर्ष छ ।

हत्यापछि घटनालाई लुकाउने उद्देश्यले पण्डितले मोटरसाइकल प्रयोग गरी शव ओसारेको पनि अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार तिवारीको शव मोटरसाइकलमा राखेर दमक नगरपालिका–१० अन्तर्गत सेतुमारी क्षेत्रको रतुवा खोलाको पुलमुनि लगेर फालिएको थियो ।

गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र पोको पारिएको अवस्थामा तिवारीको शव फेला परेको थियो। शवको सनाखतपछि प्रहरीले मोबाइल फोनको विवरण, प्राविधिक विश्लेषण, स्थानीय सूचनालगायत प्रमाणका आधारमा अनुसन्धानलाई तीव्रता दिएको थियो ।

अनुसन्धानकै क्रममा घटनामा प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको एसपी खड्काको भनाइ छ ।

युवतीको शव बोराभित्र फेला परेपछि जिल्लाभरि चर्चाको विषय बनेको उक्त घटनामा प्रहरीले छोटो अवधिमै मुख्य आरोपितलाई पक्राउ गर्दै अनुसन्धानलाई निर्णायक चरणमा पुर्‍याएको जनाएको छ ।