Breaking Nepal

विराटनगर / सुनसरी–मोरङ औद्योगिक करिडोर र विराटनगर महानगर क्षेत्रभित्र पछिल्ला केही दिनयता दैनिक रूपमा दोहोरिने विद्युत ट्रिपिङ तथा भोल्टेज फल्क्च्यूएशनको समस्याले उद्योग, व्यवसाय र सर्वसाधारणको जनजीवन प्रभावित बनेपछि उद्योग संगठन मोरङले तत्काल समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।
संगठनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक तथा नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशकलाई पत्राचार गर्दै विद्युत आपूर्तिमा देखिएको अस्थिरता तत्काल अन्त्य गर्न आग्रह गरेको हो।
संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार औद्योगिक क्षेत्रमा दैनिक १० देखि १२ पटकभन्दा बढी भइरहेको विद्युत ट्रिपिङले उत्पादन प्रणालीमा प्रत्यक्ष असर पुर्याइरहेको छ। बारम्बारको विद्युत अवरोधका कारण उद्योगका मिल, मेसिनरी तथा विद्युतीय उपकरणमा क्षति पुग्नुका साथै उत्पादन प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुने, उत्पादन तालिका प्रभावित हुने र श्रमिकहरू निष्क्रिय बस्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।
उनले विद्युत आपूर्तिको अनिश्चितताका कारण उद्योगहरूले वैकल्पिक रूपमा जेनेरेटर सञ्चालन गर्न बाध्य भएको उल्लेख गर्दै इन्धनको बढ्दो मूल्यका कारण उत्पादन लागत उल्लेखनीय रूपमा बढेको बताए। यसले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने जोखिम समेत बढाएको उनको भनाइ छ।
संगठनले विद्युत आपूर्ति प्रणालीलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी दीर्घकालीन समाधानको व्यवस्था गर्न प्राधिकरणसँग माग गरेको छ।
विद्युत ट्रिपिङ र फल्क्च्यूएशनको समस्या उद्योग क्षेत्रमै सीमित नभई कार्यालय, शैक्षिक संस्था तथा घरायसी उपभोक्तासमेत प्रभावित बनेको संगठनले जनाएको छ। बारम्बारको विद्युत अवरोधका कारण विद्युतीय उपकरणको प्रयोगमा समस्या उत्पन्न हुनुका साथै अध्ययन, प्रशासनिक कामकाज र दैनिक जीवनका गतिविधि प्रभावित भइरहेको संगठनको ठहर छ।
उद्योग, व्यवसाय र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै विद्युत आपूर्तिमा देखिएको समस्या गम्भीरतापूर्वक सम्बोधन गरी शीघ्र समाधान निकाल्न संगठनले नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेको छ।