तरकारी खेतीबाटै आत्मनिर्भर : विदेशको मोह छाडेर कृषि उद्यममा मोहन मेहताको लोभलाग्दो सफलता

Breaking Nepal

pen
दीपक खडका
शुक्रबार ,जेष्ठ २२ , २०८३ १९:५९

सुनसरी / वैदेशिक रोजगारीको आकर्षणले हरेक वर्ष हजारौं नेपाली युवा विदेशिने क्रम जारी रहँदा सुनसरीको बर्जु गाउँपालिकाका मोहन मेहताले भने कृषि व्यवसायलाई नै आयआर्जनको मुख्य आधार बनाएर आत्मनिर्भर बन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

४८ वर्षीय मेहता विगत १८ वर्षदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय छन् । अधिकांश युवा विदेशमा अवसर खोजिरहेका बेला उनी हरेक बिहान–साँझ खेतबारीमा व्यस्त देखिन्छन् । उनले भाडामा लिएको करिब डेढ बिघा जग्गामा भिण्डी, लौका, घिरौंला, फर्सी, करेला लगायतका विभिन्न तरकारी उत्पादन गर्दै आएका छन् ।

चारैतिर घरले घेरिएको खाली जग्गालाई उत्पादनशील बनाउँदै उनले स्थानीय बजारमा ताजा तथा विषादीरहित तरकारी आपूर्ति गरिरहेका छन् । उत्पादनको गुणस्तर र नियमित आपूर्तिका कारण उनका तरकारीप्रति उपभोक्ताको आकर्षण बढ्दो छ ।

खाडीको कमाइभन्दा कृषि व्यवसायमा सम्भावना

मेहताको अनुभवमा कृषि क्षेत्रमा ज्ञान, सीप र लगनशीलता भए नेपालमै सम्मानजनक आम्दानी गर्न सकिन्छ । उनी भन्छन्, “कृषिलाई परम्परागत निर्वाहमुखी पेसाका रूपमा होइन, व्यवसायका रूपमा लिनुपर्छ । शिक्षित युवाले पनि आधुनिक प्रविधिसहित कृषि क्षेत्रमा प्रवेश गरे पर्याप्त रोजगारी र आम्दानी सिर्जना गर्न सकिन्छ ।”

पाँच सदस्यीय परिवारको खर्च धान्दै उनले आफ्ना छोराछोरीलाई सहरकै प्रतिष्ठित विद्यालयमा अध्ययन गराइरहेका छन् । कृषिबाट प्राप्त आम्दानीले परिवार सञ्चालनसँगै शिक्षा र अन्य आवश्यकताहरू सहज रूपमा पूरा भएको उनको भनाइ छ ।

घाटामा रहेको खेतलाई बनाइदिए उत्पादनको केन्द्र

मेहताले खेती गरिरहेको जग्गामा यसअघि पनि कृषि उत्पादन हुँदै आएको थियो । तर अघिल्लो किसानले चार वर्षमा करिब १० लाख रुपैयाँ घाटा बेहोरेपछि खेती छाडेका थिए । त्यसपछि मेहताले वार्षिक २ लाख ७ हजार रुपैयाँ भाडा तिर्ने तथा प्रत्येक वर्ष १५ प्रतिशत भाडा वृद्धि हुने सर्तमा उक्त जग्गा लिएका हुन् ।

आज त्यही जमिनमा उत्पादन भइरहेको तरकारीले उनको कृषि व्यवसायलाई सफलताको मार्गमा पुर्‍याएको छ ।

विषादीरहित उत्पादनमा जोड

मेहताले उत्पादन गर्ने अधिकांश तरकारीमा रासायनिक विषादीको प्रयोग नगर्ने गरेको बताउँछन् । उनले मुख्यतः गोबर मल र प्राङ्गारिक मल प्रयोग गर्दै आएका छन् ।

उनका अनुसार जैविक मलको प्रयोगले तरकारीको स्वाद, गुणस्तर र भण्डारण क्षमता समेत बढाएको छ । खेत अवलोकन गर्न आउने धेरै उपभोक्ताले प्रत्यक्ष रूपमा तरकारी खरिद गर्ने गरेका छन् ।

“उपभोक्तालाई स्वस्थ र ताजा तरकारी उपलब्ध गराउनु नै मेरो मुख्य उद्देश्य हो,” उनले भने, “बजारमा पाइने अत्यधिक विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको अवस्था छ ।”

तालिम र ज्ञानले बढायो आत्मविश्वास

मेहताले कृषि सम्बन्धी विभिन्न औपचारिक तथा अनौपचारिक तालिम लिएका छन् । जिल्ला कृषि विकास कार्यालय तथा विभिन्न विकास साझेदार संस्थाबाट प्राप्त तालिमले व्यावसायिक खेतीलाई अझ प्रभावकारी बनाउन सहयोग पुगेको उनको अनुभव छ ।

उनले मल्चिङ प्रविधिको प्रयोगमार्फत झारपात नियन्त्रण, श्रम लागत कटौती र उत्पादन वृद्धि गर्न सफल भएको बताए । यस प्रविधिले गोडमेलमा लाग्ने समय र खर्च दुवै घटाएको उनको भनाइ छ ।

किसानको पीडा स् विचौलिया र नीतिगत कमजोरी

कृषि क्षेत्रमा सम्भावना प्रशस्त भए पनि किसानले अझै पनि विभिन्न चुनौती झेल्नुपरेको मेहताको गुनासो छ । विशेषगरी विचौलियाले बढी लाभ लिने प्रवृत्ति र सरकारी कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा किसान मारमा परेको उनी बताउँछन् ।

उनका अनुसार कृषकमैत्री नीति, सहज कृषि कर्जा, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा सरकारले थप ध्यान दिन आवश्यक छ । साथै विदेशबाट आयात हुने तरकारीको गुणस्तर परीक्षण र विषादी नियन्त्रणमा कडाइ गरिए स्वदेशी उत्पादनले थप बजार पाउने उनको विश्वास छ ।

‘माटोको मूल्य बुझ्न सके आत्मनिर्भर बन्न सकिन्छ’

मेहता नेपाली युवामा बढ्दो विदेश मोहप्रति चिन्ता व्यक्त गर्छन्। विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर आफ्नै देशमा कृषि व्यवसाय गर्न हिच्किचाउने प्रवृत्ति बदलिनुपर्ने उनको धारणा छ ।

“हाम्रो देशको माटो अत्यन्तै उर्वर छ । त्यसको मूल्य बुझ्न नसक्नु युवा पुस्ताका लागि दुर्भाग्य हो,” उनी भन्छन् ।

स्थानीय उपभोक्ता रमेश महतोका अनुसार मेहताको फार्मबाट खरिद गरिएका तरकारी ताजा, स्वादिलो र दीर्घकालसम्म टिक्ने भएकाले एकपटक किन्ने ग्राहक पुनः फर्किने गरेका छन् ।

व्यावसायिक कृषि, गुणस्तरीय उत्पादन र निरन्तर मेहनतका कारण मोहन मेहता आज सुनसरीका प्रेरणादायी किसानका रूपमा परिचित बनेका छन् । वैदेशिक रोजगारीलाई मात्र सफलताको माध्यम ठान्ने सोचबीच उनले कृषि उद्यममार्फत स्वदेशमै सम्मानजनक जीवनयापन सम्भव रहेको सशक्त सन्देश दिएका छन् ।