विश्वकपअघि अमेरिका–इरान विवाद: इरानी समर्थकको टिकट कोटा रद्द गरिएको आरोप

Breaking Nepal

बुधबार ,जेष्ठ २७ , २०८३ ०८:१४

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को फिफा विश्वकपका लागि आफ्ना समर्थकहरूलाई छुट्याइएको टिकट कोटा अमेरिकाले रद्द गरेको आरोप लगाएको छ। विश्वकप सुरु हुन केही दिन मात्र बाँकी रहँदा यस्तो निर्णय गरिएको भन्दै इरानले यसलाई खेलकुदको भावना विपरीत भएको बताएको छ।

मङ्गलवार जारी विज्ञप्तिमा महासङ्घले समूह चरणका तीनवटै खेल हुने रङ्गशालामा इरानी समर्थकहरूको उपस्थिति सीमित गर्न अमेरिकाले अवरोध सिर्जना गरेको दाबी गरेको छ। इरानका अनुसार दुई देशबीचको तनावपूर्ण कूटनीतिक सम्बन्धका कारण इरानी समर्थक तथा टोलीसँग सम्बन्धित केही कर्मचारीलाई समेत प्रशासनिक कठिनाइ र भिसा समस्याको सामना गर्नुपरेको छ।

फिफाको नियमअनुसार प्रत्येक खेलको कुल टिकटमध्ये ८ प्रतिशत कोटा सहभागी राष्ट्रका फुटबल महासङ्घलाई उपलब्ध गराइन्छ। इरानले उक्त कोटा प्राप्त गरेपछि न्युजिल्यान्ड, बेल्जियम र इजिप्टविरुद्ध हुने समूह चरणका खेलका लागि टिकट बिक्री प्रक्रिया सुरु गरिसकेको जनाएको छ।

तर, महासङ्घका अनुसार पछि उक्त टिकट कोटा फिर्ता लिइएको जानकारी दिइएको छ, जसका कारण इरानी समर्थकहरूलाई टिकट उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भएको छ। इरानले यस कदमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी राष्ट्रहरूबीच समान व्यवहारको सिद्धान्तमाथि प्रश्न उठाएको उल्लेख गरेको छ।

यस विषयमा अमेरिकी पक्ष वा फिफाबाट भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।