Breaking Nepal

काठमाडौं / विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको २३औँ संस्करण आजदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। तीन राष्ट्र—मेक्सिको, अमेरिका र क्यानडा—को संयुक्त आयोजनामा हुन लागेको विश्वकप २०२६ फुटबल इतिहासकै सबैभन्दा ठूलो, विस्तारित र व्यावसायिक रूपमा प्रभावशाली संस्करणका रूपमा हेरिएको छ।
विश्वकपको उद्घाटन खेल नेपाली समयअनुसार आज राति १२स्४५ बजे मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेका रंगशालामा हुनेछ, जहाँ घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गर्नेछ।
विश्वभर अर्बौँ दर्शकको ध्यान केन्द्रित गर्ने यो प्रतियोगितामा ४८ राष्ट्र एउटै लक्ष्य—विश्व फुटबलको सर्वोच्च उपाधि—का लागि मैदान उत्रिनेछन्।
इतिहासकै ठूलो विश्वकप
सन् १९३० मा सुरु भएको विश्वकपको ९६ वर्षे इतिहासमा पहिलोपटक तीन राष्ट्रले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका हुन्। यसअघि ३२ राष्ट्र सहभागी हुने विश्वकपमा अब ४८ टोली समावेश गरिएको छ।
टिम संख्या विस्तारसँगै खेल संख्या पनि ६४ बाट बढेर १०४ पुगेको छ। कुल ३९ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा समूह चरणदेखि फाइनलसम्म अभूतपूर्व प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताका खेल अमेरिका, मेक्सिको र क्यानडाका १६ शहरमा आयोजना हुनेछन्। विश्व फुटबलको व्यावसायिक विस्तार, दर्शक पहुँच र प्रविधिको प्रयोगका दृष्टिले पनि यो संस्करणलाई नयाँ युगको सुरुवात मानिएको छ।
नयाँ ढाँचा, थप प्रतिस्पर्धा
विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा चार टोली रहनेछन्।
समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोलीसहित तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। यससँगै पहिलोपटक ‘राउण्ड अफ ३२’ समावेश गरिएको छ।
नयाँ ढाँचाअनुसार उपाधि जित्ने टोलीले कुल आठ खेल खेल्नुपर्नेछ, जुन अघिल्ला संस्करणको तुलनामा एक खेल बढी हो।
चार राष्ट्रको ऐतिहासिक डेब्यु
यस संस्करणमा चार राष्ट्रले पहिलोपटक विश्वकप खेल्दैछन्। एसियाबाट उज्वेकिस्तान र जोर्डन, अफ्रिकाबाट केप भर्डे तथा क्यारेबियन क्षेत्रबाट कुराकाओ ले पहिलोपटक विश्वकपको यात्रा तय गरेका छन्।
विशेषगरी करिब डेढ लाख जनसंख्या भएको कुराकाओ विश्वकपमा छनोट हुने सबैभन्दा सानो राष्ट्र बनेको छ।
अनुभवी र नयाँ पुस्ताको संगम
यस विश्वकपमा पुस्तान्तरणको रोचक दृश्य पनि देखिनेछ। अनुभवी स्टारहरू र नयाँ पुस्ताका प्रतिभाहरू एउटै मञ्चमा प्रतिस्पर्धा गर्नेछन्।
क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी कीर्तिमानी छैटौँ विश्वकप खेल्ने तयारीमा छन्। रोनाल्डोका लागि विश्वकप उपाधि अझै अधुरो सपना बनेको छ भने मेसी साविक विजेता कप्तानका रूपमा उपाधि रक्षा अभियानमा छन्।
यस्तै लुका मोडरिच, गुइलेर्मो ओचोआ, नेमार, केभिन डे ब्रुएना र मोहम्मद सलाह जस्ता खेलाडीका लागि यो अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ।
अर्कोतर्फ किलियन एमबाप्पे, एर्लिङ हालान्ड र लामिन यामाल जस्ता नयाँ पुस्ताका स्टारहरू विश्व फुटबलको नेतृत्व लिन तयार देखिएका छन्।
उपाधि होडमा को बलियो ?
विश्वकप सुरु हुनुअघि नै उपाधि दाबेदारबारे बहस चुलिएको छ।
साविक उपविजेता फ्रान्स र युरोपियन च्याम्पियन स्पेन प्रमुख दाबेदार मानिएका छन्। त्यस्तै साविक विजेता अर्जेन्टिना, पाँचपटकको विजेता ब्राजिल, इंग्ल्याण्ड, पोर्चुगल र नेदरल्यान्ड्स पनि उपाधिका बलिया प्रतिस्पर्धीका रूपमा हेरिएका छन्।
नयाँ ढाँचा, बढेको खेल संख्या र लामो प्रतियोगिताका कारण यसपटक सम्भावित विजेताको अनुमान अघिल्ला संस्करणभन्दा कठिन मानिएको छ।
विश्वकप विजेतालाई ५० मिलियन डलर
यस संस्करणमा पुरस्कार राशि पनि कीर्तिमानी स्तरमा पुगेको छ। विश्व फुटबलको सर्वोच्च निकाय ँक्ष्ँब् ले विश्वकप २०२६ का लागि कुल ६५५ मिलियन अमेरिकी डलर पुरस्कार राशि स्वीकृत गरेको छ, जुन कतार विश्वकपको तुलनामा झन्डै ५० प्रतिशत बढी हो।
उपाधि जित्ने टोलीले विश्वकप ट्रफीसहित ५० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ। उपविजेताले ३३ मिलियन डलर, तेस्रो हुने टोलीले २९ मिलियन डलर तथा चौथो स्थानमा रहने टोलीले २७ मिलियन डलर पाउनेछन्।
समूह चरणबाटै बाहिरिने टोलीले पनि ९ मिलियन डलर प्राप्त गर्नेछ भने छनोट भएका सबै राष्ट्रलाई तयारी खर्चस्वरूप थप १।५ मिलियन डलर उपलब्ध गराइनेछ।
विश्व फुटबलको नयाँ अध्याय
४८ राष्ट्र, १०४ खेल, तीन आयोजक राष्ट्र, नयाँ फर्म्याट, बढेको आर्थिक आकार र विश्वव्यापी दर्शक सहभागितासहित फिफा विश्वकप २०२६ केवल अर्को विश्वकप मात्र होइन, विश्व फुटबलको नयाँ अध्यायको उद्घोष पनि हो।
अब आगामी ३९ दिन विश्व फुटबलका समर्थकहरूको नजर उत्तर अमेरिकामै केन्द्रित हुनेछ—र अन्ततः जुलाई १९ मा विश्वकप ट्रफी कसले उचाल्छ भन्ने प्रश्नको जवाफ मैदानले दिनेछ।