Breaking Nepal

विराटनगर / डिजिटल युगमा नागरिक सहभागिता, नेतृत्व विकास र नवप्रवर्तनमा युवाको भूमिकालाई सशक्त बनाउने उद्देश्यसहित कोशी प्रदेश युवा सम्मेलन–२०२६ बुधबारदेखि विराटनगरमा सुरु भएको छ ।
‘डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि युवाहरूको साझा सहभागिता’ भन्ने मूल नारासहित होटल इस्टर्न स्टारमा सुरु भएको दुईदिने सम्मेलनले प्रदेशभरका युवालाई डिजिटल साक्षरता, नागरिक उत्तरदायित्व र सामाजिक रूपान्तरणका विषयमा एकीकृत बहसको साझा मञ्च प्रदान गरेको छ ।
कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले सम्मेलनको उद्घाटन गर्दै डिजिटल रूपान्तरण, सुशासन र समावेशी विकासलाई प्रभावकारी बनाउन युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको अर्थपूर्ण उपस्थितिले मात्र दिगो विकासका लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे ।
“आजको डिजिटल युगमा युवा केवल परिवर्तनका दर्शक होइनन्, परिवर्तनका नेतृत्वकर्ता हुन्,” मन्त्री महतोले भने, “राष्ट्र निर्माण, नवप्रवर्तन र सुशासन प्रवर्द्धनमा युवाको सिर्जनशील ऊर्जा परिचालन गर्न आवश्यक छ ।”
उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा पालुङवा चेम्जोङ, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपमहासचिव किरण थापा तथा युवा अभियान नेपालकी महासचिव सुस्मिता यादवलगायतको उपस्थिति रहेको थियो ।
सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट युवा अभियन्ता, नीति निर्माता, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा डिजिटल अधिकार, नागरिक सहभागिता, युवा नेतृत्व, नवप्रवर्तन, सूचना प्रविधिको उपयोग तथा सामाजिक उत्तरदायित्वजस्ता विषयमा छलफल केन्द्रित रहनेछ ।
गैरसरकारी संस्था महासंघ नेपाल, युवा अभियान नेपाल तथा साझेदार संस्थाहरूको सहकार्यमा युरोपियन युनियनको आर्थिक सहयोगमा आयोजित सम्मेलनले डिजिटल नागरिक क्षेत्रलाई थप सुदृढ बनाउने तथा युवाहरूबीच अनुभव, ज्ञान र नवीन सोचको आदान–प्रदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विषयगत कार्यपत्र प्रस्तुति, अन्तरक्रियात्मक सत्र, समूहगत छलफल तथा अनुभव आदान–प्रदानका कार्यक्रम समावेश छन् । आयोजकका अनुसार सम्मेलनले डिजिटल अवसर र चुनौतीबीच युवाको नेतृत्वदायी भूमिका स्थापित गर्दै प्रदेशस्तरीय युवा सञ्जाल विस्तारमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।