कांग्रेसको क्रियाशील सदस्यताको अद्यावधिक अभियान सम्पन्न, अद्यावधिकमा ५ लाख ३८ हजार मात्रै सहभागी

Breaking Nepal

शुक्रबार ,जेष्ठ २९ , २०८३ १०:४८

काठमाडौं / नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अद्यावधिक अभियान सम्पन्न गरेको छ । पार्टीका अनुसार अद्यावधिक प्रक्रियामा सहभागी भई एनसी आइडी प्राप्त नगर्ने सदस्यहरूले आगामी असोजमा हुने पन्ध्रौँ महाधिवेशनमा सहभागिता जनाउन नपाउने भएका छन् ।

कांग्रेसले गत पुससम्म नवीकरण तथा नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूको विवरण समेटेर वैशाख १ गतेदेखि जेठ २८ गते मध्यरातसम्म अद्यावधिक अभियान सञ्चालन गरेको थियो। पार्टीको केन्द्रीय क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार कुल ७ लाख ८२ हजार २०९ सदस्य अद्यावधिकका लागि योग्य थिए ।

तीमध्ये हालसम्म ५ लाख ३८ हजार ६२२ सदस्यले वडा तहबाट प्रक्रिया पूरा गरी एनसी आइडी प्राप्त गरिसकेका छन् । यस्तै, १ लाख ४९ हजार ३०९ सदस्यले अद्यावधिकका लागि आवेदन दिइसके पनि उनीहरूको एनसी आइडी जारी हुन बाँकी रहेको जनाइएको छ ।

पार्टीले एनसी आइडीलाई आगामी महाधिवेशनमा प्रतिनिधित्व तथा सहभागिताको आधार बनाउने भएकाले प्रक्रिया पूरा नगर्ने सदस्यहरू महाधिवेशनबाट बाहिरिन सक्ने संकेत गरेको छ ।

कांग्रेसका अनुसार केही हिमाली जिल्लाका सदस्य तथा विदेशस्थित जनसम्पर्क समिति अन्तर्गतका क्रियाशील सदस्यहरूको अद्यावधिक प्रक्रिया थप व्यवस्थित र सहजीकरण गरिनेछ । ती क्षेत्रका सदस्यहरूको विवरण प्रमाणीकरण तथा अभिलेखीकरणका लागि विशेष व्यवस्था गरिने तयारी रहेको जनाइएको छ ।

यसैबीच, नयाँ क्रियाशील सदस्यता प्राप्त गर्न इच्छुक व्यक्तिका लागि पार्टीले अनलाइन आवेदन प्रणाली खुला गरेको छ । कांग्रेसका अनुसार नयाँ सदस्यताका लागि आवेदन दिने प्रक्रिया निरन्तर खुला रहनेछ र इच्छुकले अनलाइन माध्यमबाट आवेदन दर्ता गर्न सक्नेछन् ।

पार्टी संगठनलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित बनाउने रणनीतिअनुसार क्रियाशील सदस्यताको अद्यावधिक र एनसी आइडी वितरण अभियानलाई तीव्रता दिइएको कांग्रेसले जनाएको छ ।