Breaking Nepal

काठमाडौं / नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न समसामयिक विषयमा केन्द्रित पाँच विषयगत उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको छ ।
प्रतिष्ठानको जेठ २७ र २८ गते बसेको दुईदिने बैठकले प्रतिष्ठान प्रमुखको प्रस्तावमा उपसमितिहरू गठन गरी संयोजकहरूको जिम्मेवारी तोकेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
निर्णयअनुसार ‘डायस्पोरा डाइलग’ उपसमितिको संयोजकमा डा. यादव पण्डित चयन भएका छन् । उक्त उपसमितिले गैरआवासीय नेपाली समुदायसँग नागरिकता, लगानी तथा मतदान अधिकारलगायत विषयमा नीति संवाद र समन्वय गर्नेछ । साथै, जनसम्पर्क समितिको औपचारिक संरचनाभन्दा बाहिर रहेका विश्वव्यापी नेपाली समुदायसँग समेत संवाद विस्तार गर्ने लक्ष्य राखिएको छ ।
यस्तै, ‘स्वास्थ्य बिमा र सेवामा पहुँच’ नीतिगत संवाद उपसमितिको संयोजकमा डा. अन्जनीकुमार झा चयन भएका छन् । स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र बिमा प्रणालीसँग सम्बन्धित नीतिगत बहस तथा सुझाव संकलनमा उपसमितिले काम गर्ने जनाइएको छ।
‘घरेलु तथा डिजिटल हिंसा सचेतना’ उपसमितिको नेतृत्व स्वीकृति पौडेलले पाएकी छन् भने ‘सार्वजनिक यातायात तथा सडक सुरक्षा सचेतना’ उपसमितिको संयोजकमा श्रीप्रसाद भलामी चयन भएका छन् । त्यस्तै, खेल क्षेत्रसँग सम्बन्धित नीति बहस र सुधारका विषयमा काम गर्ने ‘खेलकुद नीति संवाद’ उपसमितिको संयोजकमा विनोद दास चयन भएका छ न्।
प्रतिष्ठानले विभिन्न सामाजिक, आर्थिक तथा सार्वजनिक सरोकारका विषयमा नीति निर्माण र संवादलाई संस्थागत बनाउन विषयगत उपसमिति गठन गरिएको जनाएको छ । कांग्रेसभित्र नीति–आधारित छलफललाई थप प्रभावकारी बनाउने तथा सरोकारवाला समूहसँग समन्वय बढाउने उद्देश्यले यी उपसमितिहरूलाई सक्रिय बनाइने प्रतिष्ठानको भनाइ छ ।