बीमा सचेतना फैलाउन विद्यार्थी अग्रसर: कोशी प्रदेशस्तरीय हाजिरीजवाफमा मेरिल्याण्ड प्रथम

Breaking Nepal

शुक्रबार ,जेष्ठ २९ , २०८३ २०:५१

विराटनगर / बीमा सम्बन्धी ज्ञान, वित्तीय साक्षरता तथा जोखिम व्यवस्थापनबारे विद्यार्थीहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कोशी प्रदेशस्तरीय अन्तरविद्यालय बीमा हाजिरीजवाफ प्रतियोगितामा मेरिल्याण्ड माध्यमिक विद्यालय प्रथम भएको छ।

नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयद्वारा विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजित प्रतियोगितामा मेरिल्याण्ड माध्यमिक विद्यालयका हर्ष सिंह, सुरज पासवान र सम्भव भट्टराई सम्मिलित टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो।

प्रतियोगितामा शिक्षादीप बोर्डिङ स्कुलका केशव झा, विशेष पौडेल र अलिसा सापकोटाको टोली दोस्रो तथा श्री पोखरिया माध्यमिक विद्यालयका कृष खतिवडा, अनुकूल आचार्य र प्रज्वल आचार्यको टोली तेस्रो स्थानमा रह्यो।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्विज मास्टर मनोज तिवारीले सञ्चालन तथा प्रश्नोत्तर सत्रको सहजीकरण गरेका थिए। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बीमा क्षेत्र, वित्तीय व्यवस्थापन, जोखिम न्यूनीकरण तथा बीमाको महत्वसँग सम्बन्धित विषयमा आफ्नो ज्ञान र क्षमता प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रीति देवले बीमाप्रतिको जनचेतना विस्तार गर्न विद्यार्थीहरू प्रभावकारी माध्यम बन्न सक्ने बताइन्। विद्यालय तहदेखि नै वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र बीमा शिक्षाको ज्ञान प्रवाह गर्न यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।

उनले आगामी दिनमा पनि विद्यालय केन्द्रित बीमा शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिँदै बीमा क्षेत्रप्रति युवापुस्ताको आकर्षण र बुझाइ विस्तार गर्न प्राधिकरण प्रतिबद्ध रहेको बताइन्।

प्रतियोगिताका विजेताहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रथम टोलीले २० हजार रुपैयाँ, द्वितीय टोलीले १५ हजार रुपैयाँ र तृतीय टोलीले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्। सहभागी सबै विद्यालयलाई पनि प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

बीमा सम्बन्धी ज्ञान र चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय, विराट क्याम्पस विराटनगर, शिक्षादीप बोर्डिङ स्कुल, सिटी माध्यमिक विद्यालय, मेरिल्याण्ड माध्यमिक विद्यालय तथा सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयका गरी ६ टोली सहभागी भएका थिए।

आयोजकका अनुसार विद्यालयस्तरमै बीमा शिक्षाको पहुँच विस्तार गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्यसहित यस्ता कार्यक्रम आगामी वर्षहरूमा समेत निरन्तर सञ्चालन गरिनेछ।