भेरी अस्पतालमा एनआईसीयू सेवा विस्तार हुँदै, शय्या संख्या ८ बाट २० पुग्ने

Breaking Nepal

शनिबार ,जेष्ठ ३० , २०८३ ०८:०४

बाँके– नेपालगञ्जस्थित भेरी अस्पतालले नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी बनाउन नवजात सघन उपचार कक्ष (एनआईसीयू) विस्तार गर्ने भएको छ। हाल सञ्चालनमा रहेका ८ शय्यालाई बढाएर २० पुर्‍याउने तयारी अस्पतालले अघि बढाएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालका अनुसार एनआईसीयू विस्तारका लागि आवश्यक उपकरण थपिसकिएको छ। हाल शय्या अभावका कारण जटिल स्वास्थ्य समस्या भएका नवजात शिशुलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको छ।

उनले सेवा विस्तारपछि अस्पतालले आफ्नै स्रोतसाधनमार्फत थप नवजात शिशुलाई उपचार सेवा दिन सक्ने र अन्य अस्पतालबाट रेफर भई आउने शिशुलाई समेत सहज रूपमा एनआईसीयू सेवा उपलब्ध गराउन सकिने बताए।

भेरी अस्पतालमा दैनिक ३० देखि ४० जना सुत्केरी हुने गरेका छन्। सामान्य तथा शल्यक्रियामार्फत हुने प्रसूति सेवासँगै नवजात शिशुको उपचार क्षमता वृद्धि हुँदा मातृ तथा शिशु स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

अस्पतालले थप एनआईसीयू सञ्चालनका लागि आवश्यक चिकित्सक तथा स्टाफ नर्सको व्यवस्थापन गरिसकेको जनाएको छ। अस्पताल प्रशासनले विगतमा बन्द भएका सेवाहरू पुनः सञ्चालन गर्दै नयाँ सेवा थप्ने योजनाअन्तर्गत एनआईसीयू विस्तारको काम अघि बढाएको हो।

अस्पताललाई क्षेत्रीयस्तरको सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित सेवा विस्तारलाई प्राथमिकता दिइएको अस्पताल प्रशासनले जनाएको छ।