इडेनवर्ग कलेजमा नयाँ ऊर्जा : ४६४ विद्यार्थीको भव्य स्वागत, १९६ विद्यार्थीलाई बिदाइ

Breaking Nepal

शनिबार ,जेष्ठ ३० , २०८३ २२:०१

विराटनगर / उच्च शिक्षामा गुणस्तरीयता, सीपमूलक अध्ययन र रोजगारमुखी शिक्षालाई प्राथमिकता दिँदै आएको इडेनवर्ग कलेजले शनिबार बिदाइ तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । विशेष समारोहमा स्नातक तहका पुराना विद्यार्थीलाई सम्मानपूर्वक बिदाइ गर्नुका साथै नयाँ शैक्षिक यात्रामा प्रवेश गरेका विद्यार्थीलाई औपचारिक स्वागत गरिएको हो ।

कार्यक्रमअन्तर्गत व्यवस्थापन तथा शिक्षा संकायका छैटौँ ब्याचका १९६ विद्यार्थीलाई बिदाइ गरिएको थियो भने नवौँ ब्याचका ४६४ नयाँ विद्यार्थीलाई स्वागत गरिएको कलेज प्रशासनले जनाएको छ । कार्यक्रममा विद्यार्थी, अभिभावक, प्राध्यापक तथा शिक्षाक्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै कलेजका निर्देशक भुवन नेपालले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई व्यक्तित्व निर्माण, नेतृत्व विकास र आत्मनिर्भरता हासिल गर्ने आधार भएको बताए । उनले वर्तमान प्रतिस्पर्धी युगमा विद्यार्थीहरूले सिर्जनशील सोच, प्रविधिमैत्री ज्ञान र व्यवहारिक सीपलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याए । बिदाइ हुने विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै उनले कलेजबाट प्राप्त ज्ञान र संस्कारलाई जीवनभर उपयोग गर्न आग्रह गरे ।

क्याम्पस प्रमुख दीपेन्द्रकुमार साह (डिके)ले इडेनवर्ग कलेजले स्थापनाकालदेखि नै विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै अनुशासन, नैतिकता र व्यावसायिक दक्षताको शिक्षा प्रदान गर्दै आएको उल्लेख गरे । उनले उच्च शिक्षा हासिल गरिरहेका युवाहरूलाई बदलिँदो समयअनुसार आफूलाई तयार पार्नुपर्नेमा जोड दिँदै अनुसन्धान, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वप्रति सचेत रहन सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्राडा गोविन्द गुरागाईंले उच्च शिक्षाले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यार्थीहरूले अध्ययनलाई केवल परीक्षामा सीमित नराखी व्यवहारिक जीवनसँग जोड्नुपर्ने धारणा राखे । उनले मेहनत, इमान्दारिता र अनुशासनलाई सफलताको प्रमुख आधारका रूपमा व्याख्या गरे ।

विशिष्ट अतिथि प्राडा जीवन ढकालले इडेनवर्ग कलेजले प्रदेशस्तरमै शैक्षिक उत्कृष्टताको पहिचान स्थापित गर्न सफल भएको बताए । उनले कलेजले उत्पादन गरेका जनशक्ति विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिकामा देखिन थालेको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रदर्शनलाई समेत विशेष स्थान दिइएको थियो । सांस्कृतिक प्रस्तुतिहरू, आधुनिक तथा लोकनृत्य, गीत–संगीत र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो । ‘डान्सिङ स्टार’ प्रतियोगिताले विद्यार्थीहरूमा लुकेका प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।

सोही अवसरमा पत्रकार प्रेम देवानद्वारा आफ्ना स्वर्गीय पिता कृष्ण देवानको स्मृतिमा स्थापना गरिएको ‘कृष्ण देवान स्मृति पुरस्कार’ उत्कृष्ट विद्यार्थी चीना रोयलाई प्रदान गरिएको थियो । पुरस्कारमार्फत शैक्षिक उत्कृष्टता र अनुकरणीय उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गरिएको जनाइएको छ ।

कलेजका निर्देशक कृष्ण निरौलाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीको तर्फबाट मन्तव्य व्यक्त गर्दै आभाष कोइरालाले इडेनवर्ग कलेजमा अध्ययन गर्ने अवसर प्राप्त हुनु आफ्ना लागि गर्वको विषय भएको बताए । उनले कलेजले प्रदान गरेको शैक्षिक वातावरण, शिक्षकहरूको सहयोग र अतिरिक्त क्रियाकलापले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे ।

कलेजका अनुसार हाल व्यवस्थापन संकायमा ९ सय ४० तथा शिक्षा संकायमा ४ सय २० गरी कुल १ हजार ३ सय ६० विद्यार्थी अध्ययनरत छन् । पछिल्ला वर्षहरूमा शैक्षिक उपलब्धि, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका कारण कलेजप्रति विद्यार्थीको आकर्षण निरन्तर बढिरहेको छ ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षाविद्, अभिभावक, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमले पुराना र नयाँ विद्यार्थीबीच अनुभव आदानप्रदान, प्रेरणा तथा आत्मीय सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

शिक्षा, सीप, संस्कार र नेतृत्व विकासलाई केन्द्रमा राख्दै अघि बढिरहेको इडेनवर्ग कलेजले यस्ता कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक यात्रासँगै सामाजिक तथा व्यावसायिक जीवनका लागि समेत तयार पार्ने प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।