Breaking Nepal

सिरहा / सिरहाका विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा ग्राभेल र बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न १० वटा टिपर र एक स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–३ स्थित गागनखोलाबाट आठ वटा टिपर तथा सिरहा नगरपालिका–१३ गमहरियास्थित कमला नदी क्षेत्रबाट दुई वटा टिपर र एक स्काभेटर नियन्त्रणमा लिइएको हो ।
अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोलबजारबाट खटिएको संयुक्त टोलीले ग्राभेल लोड गरिएका आठ वटा टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सवारीसाधनमा ना४ख ८३७३, ना८ख १५१९, ना३ख ३८११, ना६ख ६९८८, मप्र०१–००१ क ०५१४, बाप्र०३–००१ क ०३३८, प्र२–०१–००१ क ०१९० र मप्र०३–००१ क ३८९३ नम्बरका टिपर रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर सुधन केसीका अनुसार प्रहरी टोली घटनास्थल पुगेपछि सबै चालक सवारीसाधन छाडेर फरार भएका थिए । चालकहरू फरार भएपछि अन्य सवारी चालकको सहयोगमा ती टिपर नियन्त्रणमा लिएर कार्यालयसम्म ल्याइएको उनले बताए ।
केसीका अनुसार हालसम्म ती सवारीसाधनका धनी वा चालक प्रहरी सम्पर्कमा आएका छैनन् ।
त्यसैगरी, कमला नदी क्षेत्रबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा प्रहरीले प्र२–०१–००१ ख ०२०३, लु२ख १८७७ र ना१ख ३५८१ नम्बरका टिपरसहित एक स्काभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर नरेश लिम्बुले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएका सबै सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित स्थानीय तहलाई बुझाइसकेको जनाएको छ ।
जिल्लामा नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रणका लागि निगरानी र अनुगमनलाई थप कडाइ गरिएको प्रहरीले जनाएको छ ।