Breaking Nepal

झापा / सार्वजनिक रूपमा एक महिलालाई बाँधेर कालोमोसो दलेको घटनामा प्रहरीले पाँच जनाविरुद्ध भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गर्दै अनुसन्धान तीव्र बनाएको छ । प्रारम्भिक अनुसन्धानले घटना आकस्मिक नभई पूर्वयोजनाअनुसार गरिएको देखाएको प्रहरीको निष्कर्ष छ ।
झापाको बिर्तामोड–२ चारपानेमा गत जेठ २९ गते साँझ भएको उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका सूचना अधिकारी डीएसपी रञ्जन अवालका अनुसार पीडित पक्षले सुरुमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिए पनि घटनाको प्रकृति, सार्वजनिक रूपमा अपमानित गर्ने उद्देश्य र योजनाबद्ध रूपमा गरिएको व्यवहारका आधारमा थप गम्भीर प्रकृतिको कसूरअन्तर्गत अनुसन्धान थालिएको हो ।
प्रहरीका अनुसार चारपानेकी २१ वर्षीया सबिना राजवंशीमाथि पुरानो रिसइबीको कारण देखाउँदै एक समूहले आक्रमण गरेको थियो । आरोपितहरूले उनलाई नियन्त्रणमा लिएर सडकछेउको बिजुलीको पोलमा बाँधेका थिए । त्यसपछि अनुहार तथा शरीरमा कालो पदार्थ दल्दै सार्वजनिक रूपमा अपमानजनक व्यवहार गरिएको आरोप छ ।
घटनामा कन्काई नगरपालिका–८ का १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १९ वर्षीया पूजा बस्नेत तथा बिर्तामोड–२ की ४४ वर्षीया मञ्जु हस्दालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू पूर्वतयारीसहित घटनास्थल पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।
अनुसन्धानका क्रममा आरोपितहरूले पीडितको चरित्रमाथि प्रश्न उठाउने आशयका पर्चासमेत बोकेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । सार्वजनिक स्थलमै नियन्त्रणमा लिएर गरिएको अपमानजनक व्यवहारले घटनालाई सामान्य विवाद वा झैझगडाभन्दा माथिल्लो तहको आपराधिक गतिविधिका रूपमा स्थापित गरेको प्रहरीको भनाइ छ ।
कानुनविद्हरूले यस्ता गतिविधि कानुनी शासन र नागरिक अधिकारविपरीत हुने बताएका छन् । कसैलाई सार्वजनिक रूपमा अपमानित गर्ने, कालोमोसो दल्ने, बाँध्ने वा सामाजिक बहिष्कारको उद्देश्यले गरिने व्यवहारले व्यक्तिको सम्मान, प्रतिष्ठा र मानवअधिकारमाथि प्रत्यक्ष आघात पुग्ने उनीहरूको तर्क छ ।
घटनाको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि महिला अधिकारकर्मी र नागरिक समाजले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । उनीहरूले कुनै पनि आरोप वा विवादको समाधान कानुनी प्रक्रियाबाट हुनुपर्नेमा जोड दिँदै भीडको मानसिकतामा आधारित ‘सामाजिक दण्ड’ दिने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि चिन्ताजनक भएको बताएका छन् ।
प्रहरीले घटनाका सबै आयामबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको वा नरहेको, पीडितमाथि थप हिंसात्मक प्रयास भएको थियो वा थिएन भन्ने विषयमा प्रमाण सङ्कलन भइरहेको डीएसपी अवालले जानकारी दिए ।