Breaking Nepal

विराटनगर / क्यान्सर उपचार सेवालाई थप प्रभावकारी र विशेषज्ञमुखी बनाउने लक्ष्यसहित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गतको बिराट क्यान्सर इन्स्टिच्युटले वरिष्ठ स्त्रीरोग तथा स्त्री क्यान्सर रोग विशेषज्ञ असोसिएट प्रोफेसर डा. बिनोद अर्याललाई आफ्नो चिकित्सक टोलीमा आबद्ध गरेको छ ।
इन्स्टिच्युटले विशेषज्ञ जनशक्ति विस्तार गर्दै क्यान्सरका बिरामीलाई एकीकृत, गुणस्तरीय र भरपर्दो उपचार सेवा उपलब्ध गराउने रणनीतिअनुसार डा. अर्याललाई भित्र्याएको जनाएको छ ।
मणिपाल कलेज अफ मेडिकल साइन्सेस तथा त्रिभुवन विश्वविद्यालयबाट प्रसूति तथा स्त्रीरोग विषयमा स्नातकोत्तर (एमडी) उपाधि हासिल गरेका डा. अर्यालले गाइने अन्कोलोजी (स्त्री क्यान्सर) मा विशेष प्रशिक्षण प्राप्त गरेका छन्। उनी स्तन, गर्भाशय तथा महिलाका प्रजनन अंगसँग सम्बन्धित विभिन्न प्रकारका क्यान्सर रोगको पहिचान, उपचार, शल्यक्रिया तथा रोकथाममा विशेषज्ञ मानिन्छन् ।
हस्पिटलका अनुसार डा. अर्यालले अब स्त्रीरोग तथा प्रसूति विभागमार्फत नियमित सेवा प्रदान गर्नेछन्। बिरामीले आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रत्यक्ष परामर्श तथा उपचार सेवा लिन सक्नेछन्।
बिराट क्यान्सर इन्स्टिच्युटमा हाल २५ भन्दा बढी विशेषज्ञ चिकित्सक कार्यरत छन् । इन्स्टिच्युटमार्फत दैनिक करिब एक सयभन्दा बढी क्यान्सर बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको हस्पिटलले जनाएको छ ।
पूर्वी नेपालमा क्यान्सर उपचारको प्रमुख केन्द्रका रूपमा विकास हुँदै गएको इन्स्टिच्युटले अत्याधुनिक पूर्वाधार र विशेषज्ञ सेवामार्फत उपचारको पहुँच विस्तार गरिरहेको छ। हस्पिटलमा २४ वटा शल्यक्रिया कक्ष सञ्चालनमा छन्, जसमध्ये पाँच वटा स्त्री तथा प्रसूति सेवाका लागि समर्पित छन् ।
यस्तै, प्रसूति तथा स्त्रीरोग सेवाका लागि २०० शय्याको वार्ड, ३० शय्याको डिलक्स क्याबिन तथा छुट्टै गाइनो आईसीयूको सुविधा उपलब्ध रहेको हस्पिटलले जनाएको छ ।
विशेषज्ञ चिकित्सक थपिएसँगै स्त्री क्यान्सरका बिरामीले एउटै संस्थाबाट निदान, उपचार र फलोअप सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।