Breaking Nepal

विराटनगर / मन्जिना फाउन्डेसनद्वारा आयोजित अन्तरस्थानीय तहस्तरीय विराट फुटसल च्याम्पियनसिपको उपाधि विराटनगरले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा बेलबारीलाई ५–३ गोलअन्तरले पराजित गर्दै विराटनगर च्याम्पियन बनेको हो ।

उपाधिसँगै विराटनगरले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । फाइनलमा पराजित बेलबारीले उपविजेताका रूपमा नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ ।
विजेता तथा उपविजेता टोलीलाई समापन समारोहमा कोशी प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकार, अखिल नेपाल मोरङ जिल्ला फुटबल संघका प्रशिक्षक रानु राना मगर तथा गो ग्रिन विराटनगरका सुशील केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा मोरङ जिल्लाका सुन्दरहरैंचा, केराबारी, बेलबारी, बूढीगंगा, विराटचोक र विराटनगरका गरी ६ टोली सहभागी भएका थिए । प्रतियोगिताले स्थानीय तहबीच खेलकुद प्रतिस्पर्धासँगै आपसी सम्बन्ध विस्तार र खेल संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याएको आयोजकको भनाइ छ ।
यसअघि प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव विप्लव घोषले गरेका थिए । उद्घाटन समारोहमा विराट गोल्डकप ट्रष्टका महासचिव विनेश बस्नेत, जाम्बोरी फुटसलका सञ्चालक तथा समाजसेवी शुभाशिष कोइरालालगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
फाउन्डेसनले युवाहरूलाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरेको जनाएको छ ।