धनकुटामा नेविसंघ अध्यक्ष कटुवालको स्वागत, संगठन सुदृढीकरणमा जोड

Breaking Nepal

सोमबार ,असार ८ , २०८३ २१:५२

धनकुटा / नेपाल विद्यार्थी संघ (नेविसंघ) की नवनियुक्त केन्द्रीय अध्यक्ष करुणा कटुवाललाई गृह जिल्ला धनकुटामा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरिएको छ ।

अध्यक्षको जिम्मेवारी सम्हालेपछि पहिलोपटक धनकुटा पुगेकी कटुवाललाई नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिले पार्टी कार्यालयमा स्वागत गरेको हो । कार्यक्रममा कांग्रेस तथा नेविसंघका स्थानीय नेताहरूले खादा र मालाले सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

स्वागतपछि आयोजित कार्यक्रममा कटुवालले नेविसंघ विद्यार्थीको हक–अधिकारको संरक्षण, शैक्षिक सुधार र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा अझ सक्रिय र प्रभावकारी ढंगले अघि बढ्ने बताइन् । संगठनलाई देशकै अग्रणी विद्यार्थी शक्तिका रूपमा थप मजबुत बनाउने लक्ष्यसहित काम गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव राईले धनकुटाबाट विद्यार्थी राजनीतिमा नेतृत्वदायी भूमिकासहित केन्द्रीय अध्यक्ष चयन हुनु जिल्लाकै लागि गौरवको विषय भएको उल्लेख गरे । उनले कटुवालको नेतृत्वमा नेविसंघले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।

स्वागत कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल किसान संघ, नेपाल महिला संघ, नेपाल दलित संघ तथा नेविसंघसँग आबद्ध विभिन्न तहका नेताहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कटुवालको नेतृत्वमा नेविसंघ अझ प्रभावशाली, संगठित र सशक्त बन्ने अपेक्षा व्यक्त गरेका थिए ।

नेविसंघको केन्द्रीय नेतृत्वमा चयन भएपछि कटुवालको यो पहिलो गृह जिल्ला भ्रमण हो ।