Breaking Nepal

विराटनगर / जीपी कोइराला स्पोर्ट्स एकेडेमीद्वारा आयोजित ‘जीपी कोइराला अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गोदावरी ई–बोर्डिङ स्कुलले उपाधि जितेको छ ।
विराटनगरस्थित जेएनएल फुटसल हलमा आयोजित प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै गोदावरी ई–बोर्डिङ स्कुल प्रथम भएको हो । एभरेस्ट सेकेन्डरी स्कुल द्वितीय तथा ग्रेडेड सेकेन्डरी स्कुल तृतीय बने ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) गोदावरी ई–बोर्डिङ स्कुलका श्रीजन श्रेष्ठ घोषित भए ।
प्रतियोगितामा विराटनगरका १० विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिता असार ५ गते उद्घाटन भई असार ७ गते सम्पन्न भएको हो ।
समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिका–९ का वडाध्यक्ष विश्वनाथ भगतले विजेता तथा उत्कृष्ट खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।
कार्यक्रमको अध्यक्षता एकेडेमीका अध्यक्ष रञ्जन थापाले गरेका थिए। कार्यक्रममा सिडेन मोरङका अध्यक्ष शुभाशीष कोइराला, राजु मास्के, अनुज बनियाँ, जीवनराज तिम्सिना, सृजन आचार्य, विद्या पोखरेल, सृजना राउत तथा नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको सञ्चालन एकेडेमीका सचिव प्रकाश दाहालले गरेका थिए। आयोजकका अनुसार विद्यालयस्तरमा फुटसल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलप्रति विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।