Breaking Nepal

काठमाडौँ – विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक लियोनेल मेसी आज ३९ वर्षमा प्रवेश गरेका छन्। उनको जन्मदिनको अवसरमा अर्जेन्टिनी फुटबल संघ (AFA) ले सामाजिक सञ्जालमार्फत विशेष शुभकामना व्यक्त गर्दै आफ्ना ऐतिहासिक कप्तानप्रति सम्मान प्रकट गरेको छ।
संघले ‘#SaludoAlbiceleste’ ह्यासट्याग प्रयोग गर्दै लेखेको छ, “लियोनेल मेसीलाई ३९औँ जन्मदिनको हार्दिक शुभकामना। विश्व फुटबलको इतिहास बदल्ने महान् खेलाडीलाई जन्मदिनको धेरै शुभकामना, कप्तान!”
सन् २०२२ मा कतार विश्वकपको उपाधि जिताउँदै अर्जेन्टिनाको ३६ वर्ष लामो प्रतीक्षा अन्त्य गराएका मेसी अहिले अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा पनि टोलीको नेतृत्व गरिरहेका छन्। उनको कप्तानीमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ।
आठ पटकका ब्यालोन डी’ओर विजेता मेसीले जारी विश्वकपमा शानदार प्रदर्शन गरिरहेका छन्। उनले हालसम्म दुई खेलमा पाँच गोल गर्दै प्रतियोगितामा प्रभावशाली सुरुआत गरेका छन्। साथै, विश्वकप इतिहासमा सर्वाधिक १८ गोल गर्ने खेलाडीको कीर्तिमान समेत आफ्नो नाममा कायम गरेका छन्।
मेसीको जन्मदिनका अवसरमा विश्वभरका लाखौँ समर्थक, पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र फुटबलसँग सम्बन्धित व्यक्तित्वहरूले शुभकामना व्यक्त गरिरहेका छन्। उनको योगदान र उपलब्धिले उनलाई विश्व फुटबलको एक अद्वितीय प्रतीकका रूपमा स्थापित गरेको छ।