काठमाडौंमा ६ हजार बचतकर्ताको गुहार, फिर्ता गर्नुपर्ने रकम ५ अर्ब २७ करोड पुग्यो

Breaking Nepal

बुधबार ,असार १० , २०८३ ११:४९

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा बचत रकम फिर्ताको माग गर्दै ६ हजारभन्दा बढी बचतकर्ताले आवेदन दिएका छन्। विभागका अनुसार हालसम्म फिर्ता गर्नुपर्ने रकमको दाबी ५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

वैशाख १७ गतेदेखि सुरु गरिएको निवेदन संकलन अभियानअन्तर्गत दैनिक करिब ३० जना बचतकर्ताले उजुरी दर्ता गरिरहेका छन्। विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार अधिकांश निवेदक साना बचतकर्ता हुन्, जसले एक लाखदेखि पाँच लाख रुपैयाँसम्म बचत गरेका छन्।

महानगरपालिकाले प्राप्त उजुरीका आधारमा समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गराउने प्रक्रिया अघि बढाएको छ। हालै बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको एक लाख ५० हजार रुपैयाँसम्मको बचत फिर्ता गरिएको विभागले जनाएको छ।

विभागका अनुसार आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गरेका बचतकर्ताको रकम फिर्ता गर्ने योजना छ। ठूला बचतकर्ताको हकमा भने ऋण असुली प्रक्रिया अघि बढाएर रकम फिर्ता गराउन समन्वय भइरहेको बताइएको छ।

सहकारी विभागले उजुरी दर्ता, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने काम गर्दै आएको छ। सहमति हुन नसके आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गरिने विभागको भनाइ छ।

हाल काठमाडौं महानगरपालिकामा एक हजार ९१२ सहकारी दर्ता छन्। तीमध्ये करिब आधाले मात्र नियमित रूपमा वार्षिक साधारणसभा गरी प्रतिवेदन पेस गर्ने गरेका छन्। नियमित साधारणसभा नगर्ने सहकारीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ।