Breaking Nepal

विराटनगर / अंगीकृत नेपाली नागरिकता प्राप्तिका लागि झुटो विवरणका आधारमा सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–५ का वडाध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वडाध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेव रहेका छन्। प्रहरीले उनीहरूलाई नागरिकता सम्बन्धी कागजातमा गलत तथ्य प्रमाणित भएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार स्थानीय मनुवा कुमार महतोले एक महिलालाई आफ्नी आमा देखाउँदै अंगीकृत नागरिकताका लागि आवश्यक विवरण पेश गरेका थिए। सोही आधारमा जनप्रतिनिधिहरूले सर्जमिन मुचुल्का तथा सिफारिस उपलब्ध गराएको खुलेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले सिफारिसमा उल्लेखित तथ्य वास्तविक नभएको निष्कर्ष निकालेपछि कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो। त्यसपछि प्रहरीले दुवै जनप्रतिनिधिलाई पक्राउ गरी नागरिकता किर्तेसम्बन्धी कसुरमा अनुसन्धान थालेको हो।
घटनामा संलग्न रहेको आरोप लागेका मनुवा कुमार महतो फरार छन्। प्रहरीले उनको खोजी तीव्र बनाएको तथा प्रकरणमा संलग्न अन्य व्यक्तिको भूमिकासमेत अनुसन्धानको दायरामा रहेको जनाएको छ।