Breaking Nepal

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनअन्तर्गत खुलातर्फको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूले प्राप्त गरेको मत सार्वजनिक गरे पनि प्रवासबाट आएको मत समावेश गरेपछि अन्तिम नतिजा पुनः प्रकाशन गरिने जनाएको छ ।
खुला केन्द्रीय सदस्यका ३२ पदका लागि २०४ जनाले उम्मेदवारी दिएका छन्। हाल सार्वजनिक मतपरिणामअनुसार सबैभन्दा धेरै मत डा. स्वर्णिम वाग्लेले प्राप्त गरेका छन्। उनले २ हजार ६०७ मत प्राप्त गर्दा सोबिता गौतम २ हजार ५९४ मतसहित दोस्रो स्थानमा रहेकी छन्।
मतपरिणामअनुसार शिशिर खनाल २ हजार ४९५ मतसहित तेस्रो स्थानमा छन्। त्यसपछि तोसिमा कार्कीले २ हजार २५७, रञ्जु दर्शनाले २ हजार २४९ तथा मनिष झाले २ हजार २३७ मत प्राप्त गरेका छन्।
हरि ढकाल २ हजार २१९, कविन्द्र बुर्लाकोटी २ हजार १८४, विपिन आचार्य २ हजार १२६ र रमेश प्रसाईं २ हजार १२३ मतसहित शीर्ष १० भित्र परेका छन्। विराजभक्त श्रेष्ठले २ हजार ९४, निशा डाँगीले २ हजार ७९, इन्दिरा राना मगरले २ हजार ४७, गणेश पराजुलीले २ हजार ४५ तथा जगदिश खरेल (ललितपुर) ले २ हजार ४४ मत प्राप्त गरेका छन्।
यस्तै, पुकार बमले २ हजार ३०, सुलभ खरेलले २ हजार ८, प्रमोद न्यौपानेले १ हजार ८९२, यज्ञमणि न्यौपानेले १ हजार ८६९, सस्मित पोखरेलले १ हजार ८३३, राजुनाथ पाण्डेले १ हजार ८१२ तथा रिमा विश्वकर्माले १ हजार ८१० मत प्राप्त गरेका छन्।
शीर्ष ३२ भित्र पर्ने सम्भावना बलियो देखिएका अन्य उम्मेदवारमध्ये असिम शाहले १ हजार ७२८, राजिव खत्रीले १ हजार ७०१, समीक्षा बास्कोटाले १ हजार ६९९, गणेश कार्कीले १ हजार ६९३, हिमेश पन्तले १ हजार ६२३, प्रकृति ढकालले १ हजार ५१८, गीता चौधरीले १ हजार ५१६, सुशान्त वैदिकले १ हजार ५१६, मिलन लिम्बूले १ हजार ५०८, लिमा अधिकारी आचार्यले १ हजार ५०४ तथा टिका संग्रौलाले १ हजार ४९० मत प्राप्त गरेका छन्।
त्यसैगरी क्रान्तिशिखा धितालले १ हजार ४८९, शंकर श्रेष्ठले १ हजार ४८४, आशिका तामाङले १ हजार ४३०, सुदीप ढकालले १ हजार ४२९, बब्लु गुप्ताले १ हजार ४२१, करिस्मा कठरियाले १ हजार ३६२, अनुष्का श्रेष्ठले १ हजार ३५३, विजय जैरुले १ हजार ३३९ तथा अशोककुमार चौधरीले १ हजार २९८ मत प्राप्त गरेका छन्।
प्रारम्भिक नतिजाले पार्टीभित्र स्थापित र चर्चित अनुहारहरूको प्रभाव कायम रहेको संकेत गरेको छ। यद्यपि निर्वाचन आयोगले प्रवासबाट प्राप्त मतसमेत जोडेर अन्तिम परिणाम सार्वजनिक गर्ने भएकाले शीर्ष स्थान र निर्वाचित हुने अन्तिम सूचीमा केही फेरबदल हुन सक्ने देखिएको छ ।
रास्वपाको विधानअनुसार खुला केन्द्रीय सदस्यतर्फ सबैभन्दा बढी मत प्राप्त गर्ने ३२ जना उम्मेदवार निर्वाचित हुनेछन्। अन्तिम नतिजाको औपचारिक घोषणा केहीबेरपछि गरिने निर्वाचन आयोगले जनाएको छ ।