रास्वपाको नेतृत्व चयन : महिला उपसभापतिमा सोबिता विजयी, महामन्त्रीमा विपिनको बाजी

Breaking Nepal

शुक्रबार ,असार १२ , २०८३ १९:४०

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनअन्तर्गत पाँच पदाधिकारीका लागि सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार महिला उपसभापति पदमा सोबिता गौतम निर्वाचित भएकी छन् भने महामन्त्रीमा विपिन कुमार आचार्यले जित हासिल गरेका छन् ।

महिला उपसभापति पदको प्रतिस्पर्धामा गौतमले ७८९ मत प्राप्त गर्दै विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्। गौतमले २१७ मतको स्पष्ट अग्रतासहित नेतृत्वमा स्थान सुरक्षित गरेकी हुन् ।

त्यसैगरी, महामन्त्री पदमा विपिनकुमार आचार्य ६७३ मतसहित निर्वाचित भएका छन् । उनको जितसँगै रास्वपाको नयाँ नेतृत्व टोलीको संरचना थप स्पष्ट बन्दै गएको छ ।

पार्टीको महाधिवेशनअन्तर्गत पाँच पदाधिकारीका लागि भएको निर्वाचनको बाँकी पदहरूको मतपरिणाम पनि क्रमशः सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनसँगै पार्टीले आगामी संगठन विस्तार, नीति निर्माण र राजनीतिक रणनीतिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।