Breaking Nepal

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक यात्रामा अझै एउटा निर्णायक मोड आउन बाँकी रहेको बताएका छन्। पार्टीको कोशी प्रदेश समिति बैठकलाई सम्बोधन गर्दै उनले आफू सक्रिय राजनीतिबाट अलगिने कुनै योजना नरहेको स्पष्ट पार्दै मुलुकलाई समाजवादी दिशातर्फ अघि बढाउन फेरि नयाँ राजनीतिक पहल गर्ने संकेत दिएका हुन्।
उनले आफ्नो आगामी राजनीतिक अभियानलाई ‘अन्तिम क्रमभंग’को संज्ञा दिँदै देशको राजनीतिक दिशा परिवर्तन गर्ने उद्देश्यका साथ नयाँ ढंगले अघि बढ्ने बताए। “म राजनीतिबाट विश्राम लिन आएको होइन, मुलुकलाई समाजवादी आन्दोलनको नयाँ चरणमा लैजान फेरि एकपटक निर्णायक पहल हुनेछ,” उनले भने।
प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित टिप्पणी गर्दै उक्त दलले छोटो समयमै आफ्नो राजनीतिक चरित्र सार्वजनिक गरिसकेको दाबी गरे। त्यसले माओवादी केन्द्रका कार्यकर्तामा अन्य दलतर्फ आकर्षण घटेको उल्लेख गर्दै अब आफ्नै संगठनलाई बलियो बनाउने वातावरण बनेको उनको भनाइ थियो।
पार्टीको आन्तरिक संरचनाबारे बोल्दै अध्यक्ष दाहालले आगामी महाधिवेशनसम्म वडा तहदेखि केन्द्रीय नेतृत्वसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी भइरहेको जानकारी दिए। नेतृत्व हस्तान्तरणलाई संस्थागत बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कसैलाई व्यक्तिगत रूपमा अघि सार्ने अभ्यास अन्त्य गरी निर्णयको अधिकार कार्यकर्तामै निहित हुने व्यवस्था गरिने बताए।
विगतका राजनीतिक तथा सांगठनिक कमजोरीबाट शिक्षा लिँदै पार्टीलाई नयाँ संरचना र कार्यशैलीसहित पुनर्गठन गर्ने आवश्यकता रहेको उनको भनाइ थियो। उनले माओवादी आन्दोलन त्याग, संघर्ष र बलिदानको आधारमा स्थापित भएकाले यसलाई क्षणिक लोकप्रियता वा बाह्य प्रभावले निर्माण भएको शक्तिसँग तुलना गर्न नमिल्ने धारणा राखे।
“यो आन्दोलन आफ्नै कार्यकर्ताको रगत, पसिना र बलिदानबाट बनेको हो। राष्ट्रिय स्वाधीनता, परिवर्तन र सामाजिक न्यायका लागि लड्ने ऊर्जा अझै पनि पार्टीभित्र जीवित छ,” उनले भने।
समसामयिक राजनीतिक समीकरणबारे प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको सम्भावना नरहे पनि संसद, सडक र निर्वाचनका एजेन्डामा सहकार्य हुन सक्ने संकेत गरे। समाजवादी मोर्चामा आबद्ध दलबीच एकताको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले साझा राष्ट्रिय मुद्दामा नेपाली कांग्रेस तथा मधेशकेन्द्रित दलहरूसँग समेत सहकार्यको सम्भावना खुला रहेको बताए।
उनले आगामी राजनीतिक प्रतिस्पर्धालाई विचार, संगठन र जनआधारित अभियानमार्फत अघि बढाउने रणनीतिमा पार्टी केन्द्रित हुने उल्लेख गर्दै माओवादी केन्द्रलाई पुनः वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।