Breaking Nepal

सिरहा । सिरहाको कर्जनहा नगरपालिकामा निर्माणाधीन आरसीसी ढलान योजनाको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि आक्रमण भएको छ। निर्माण कार्यको गुणस्तरमाथि स्थानीयवासीले निरन्तर प्रश्न उठाइरहेका बेला स्थलगत रिपोर्टिङमा खटिएका रेडियो धनुषाधामका पत्रकार गोबिन्द यादव कुटपिटमा परेका हुन्।
स्थानीयका अनुसार कर्जनहा नगरपालिका–७ अन्तर्गत मरेवा बजारदेखि खोला टोलसम्म भइरहेको आरसीसी ढलान निर्माण कार्य गुणस्तरहीन भएको भन्दै व्यापक जनगुनासो आइरहेको थियो। सोही विषयको यथार्थ बुझ्न तथा सम्बन्धित पक्षको प्रतिक्रिया लिन पत्रकार यादव निर्माणस्थल पुगेका थिए।
समाचार संकलनका क्रममा उनले वडा अध्यक्षसँग योजनाको गुणस्तर र उठेका जनगुनासोबारे प्रतिक्रिया लिन खोज्दा विवाद भएको बताइएको छ। त्यसक्रममा वडा नं. ७ का अध्यक्ष रामसेवक यादवका छोराले पत्रकार यादवमाथि मुक्का प्रहार गरेको आरोप लागेको छ।
आक्रमणबाट पत्रकार यादवको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारका क्रममा उनको टाउकोमा तीन वटा टाँका लगाइएको छ। उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
घटनाप्रति स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सार्वजनिक चासोको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथिको आक्रमणले प्रेस स्वतन्त्रता, सञ्चारकर्मीको पेशागत सुरक्षा तथा नागरिकको सूचनाको अधिकारमाथि नै चुनौती खडा गरेको उनीहरूको भनाइ छ।
घटनामा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको सुरक्षाको प्रत्याभूति गरिनुपर्ने मागसमेत उठ्न थालेको छ।