Breaking Nepal

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रूपमा रकम असुली गरेको आरोपमा नेपाली कांग्रेसका नेता तथा मोरङ कारागारका पूर्वचौकीदार अभिषेक गिरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान विराटनगर–८ मधुमारास्थित उनकै निवासबाट गिरीलाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको घरमा खानतलासीसमेत गरेको थियो। खानतलासीका क्रममा विभिन्न तमसुक (ऋणसम्बन्धी कागजात) बरामद गरिएको सुरक्षा स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार गिरीले कारागारमा नाइके रहँदादेखि नै कैदीबन्दीहरूलाई विभिन्न बहानामा तमसुक गराई रकम असुल्ने गरेको आशंका गरिएको छ।
प्रहरीका अनुसार गिरीमाथि सरकारले कैदीबन्दीका लागि उपलब्ध गराउने जाडो–गर्मीको लुगा भत्ता, दैनिक भत्ता तथा कारागारभित्र मुडा र गलैँचा बुनेर आर्जन गरेको रकमसमेत जबर्जस्ती उठाउने गरेको आरोप छ। ती रकम तत्कालीन नाइके राकेश यादवसँगको मिलेमतोमा आफ्ना सहयोगीहरूको बैंक खातामा जम्मा गराउने गरेको दाबी प्रहरी स्रोतको छ।
हाल मोरङ कारागारमा १ हजार १ सय ९९ कैदीबन्दी रहेका छन्, जसमा १ हजार ९२ पुरुष र १ सय ७ महिला छन्। सरकारले प्रत्येक कैदीबन्दीलाई दैनिक ८० रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ भने जाडो र गर्मीका लागि वार्षिक पाँच हजार रुपैयाँ कपडा भत्ता पनि दिने व्यवस्था छ। कारागारभित्र करिब पाँच सय कैदीबन्दी मुडा र एक सय जनाले गलैँचा बुन्ने काम गर्दै आएका छन्।
गिरी पक्राउ परेपछि घटनामा संलग्नताको आशंकामा वर्तमान नाइके राकेश यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएपछि कारागारभित्र तनाव उत्पन्न भएको थियो। यादवलाई अन्यत्र सरुवा गर्न खोजिएको आशंकामा कैदीबन्दीहरूले नाराबाजी गर्दै विरोध जनाएका थिए। उनीहरूले गिरीमाथि कारबाही गर्नुपर्ने तर यादवलाई सरुवा गर्न नहुने माग गरेका छन्। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले यादवलाई पुनः कारागारमै फर्काएर त्यहीँ बयान लिन थालेको थियो।
पक्राउपछि गिरीले मुटु दुखेको गुनासो गरेपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि कोशी अस्पताल लगेको स्रोतले जनाएको छ। स्वास्थ्य परीक्षणपछि उनलाई पुनः जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान अघि बढाइएको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रकुमार मिश्रले कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर अवैध रूपमा रकम असुली गरेको सूचनाका आधारमा गिरीलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।