जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग, मानव अधिकार आयोगमा निवेदन

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ १७:०८

काठमाडौं । नेकपा (एमाले) ले जेनजी आन्दोलनसँग सम्बन्धित राष्ट्रिय मानव अधिकार आयोगको छानबिन तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न औपचारिक माग गरेको छ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगका सचिव मुरारी खरेललाई भेटेर प्रतिवेदन, त्यससँग सम्बन्धित निर्णय तथा सम्पूर्ण कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरेका हुन्।

एमालेले आयोगले तयार पारेको भनिएको अनुसन्धान प्रतिवेदन, निर्णय र सिफारिससँग सम्बन्धित सम्पूर्ण अभिलेख सार्वजनिक गर्नुपर्ने माग राखेको जनाएको छ। बर्तौलाका अनुसार निवेदनमा आन्दोलनका क्रममा आगजनी, संवैधानिक निकायमाथि आक्रमणका लागि उक्साहट तथा राज्य संयन्त्रमाथि अनधिकृत नियन्त्रणको प्रयास गरेको आरोप लागेका व्यक्तिहरूका विषयमा आयोगको निर्णय स्पष्ट नदेखिएको उल्लेख गरिएको छ।

निवेदनमा सार्वजनिक सञ्चारमाध्यममा आएको आयोगको बैठक नम्बर १७७ को निर्णयमा रहेको सिफारिस खण्ड र निर्णयको तथ्यगत आधारबीच पनि असंगति देखिएको दाबी गरिएको छ। सो विषयमा आयोगले स्पष्ट जानकारी दिनुपर्ने एमालेको माग छ।

एमालेले मानव अधिकार आयोगजस्तो संवैधानिक निकायबाट भएका निर्णय र अनुसन्धान प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिँदै सम्बन्धित कागजात सार्वजनिक भए मात्रै घटनाबारे तथ्यपरक मूल्याङ्कन सम्भव हुने धारणा राखेको छ।