Breaking Nepal

काठमाडौं / पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजीमोरीकी छोरी केइको फुजीमोरीले लामो राजनीतिक संघर्ष, पारिवारिक उतारचढाव र कानुनी विवाद पार गर्दै देशको सर्वोच्च नेतृत्वसम्म पुग्ने यात्रा तय गरेकी छन्। चारपटक राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गरेकी उनी अन्ततः राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवस्थामा पुगेकी हुन्।
५१ वर्षीया दक्षिणपन्थी नेतृ केइकोले करिब ५०।१ प्रतिशत मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी वामपन्थी उम्मेदवार रोबर्टो सान्चेजलाई झिनो मतान्तरले पराजित गरेकी हुन्। सान्चेजले ४९।९ प्रतिशत मत प्राप्त गरेका छन्। उनी आगामी जुलाई २८ मा राष्ट्रपतिको शपथ लिने कार्यक्रम छ।
केइकोको राजनीतिक यात्रा सहज भने थिएन। चुनावी कोष व्यवस्थापन र मनी लाउन्डरिङसम्बन्धी आरोपमा उनी सन् २०१८ देखि २०२० सम्म करिब १३ महिना जेल बसेकी थिइन्। रिहाइपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किइन् र अब देशलाई भ्रष्टाचार, अपराध तथा राजनीतिक अस्थिरताबाट बाहिर निकाल्ने चुनौती उनको काँधमा आएको छ।
उग्रवादको त्रासबीच बितेको बाल्यकाल
सन् १९९० को दशकमा उनका पिता अल्बर्टो फुजीमोरी राष्ट्रपति हुँदा पेरु उग्रवादी संगठन ‘सेन्डेरो लुमिनोसो’का हिंसात्मक गतिविधिबाट आक्रान्त थियो। राष्ट्रपतिको निवाससमेत निशानामा परेपछि केइको र उनका दाजुभाइले लामो समय सुरक्षात्मक बंकरमा रात बिताउनुपरेको थियो।
बारम्बार हुने विस्फोट र आक्रमणका कारण विद्यालय जानसमेत कठिन भए पनि शिक्षामा कुनै सम्झौता नगर्ने बुवाको अडानले कठिन परिस्थितिमा पनि सामान्य जीवन जिउन सकिने पाठ उनले त्यही समयमा सिकेकी थिइन्।
१९ वर्षमै ‘फर्स्ट लेडी’
सन् १९९४ मा अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयमा अध्ययनरत रहँदा उनका आमाबुवाबीच सम्बन्धविच्छेद भयो। उनकी आमा सुजाना हिगुचीले राष्ट्रपति कार्यालयसँग सम्बन्धित भ्रष्टाचार र राजनीतिक हस्तक्षेपको आरोप लगाएपछि परिवारमा विवाद चर्किएको थियो।
त्यसपछि केइकोले पढाइ बीचमै छोडेर पेरु फर्किने निर्णय गरिन्। आमाले ‘फर्स्ट लेडी’को भूमिका छोडेपछि तत्कालीन राष्ट्रपति अल्बर्टो फुजीमोरीले १९ वर्षीया छोरीलाई उक्त जिम्मेवारी सुम्पिएका थिए। त्यससँगै उनी विश्वकै कम उमेरका ‘फर्स्ट लेडी’मध्ये एक बनेकी थिइन्।
राष्ट्रपति भवनको केही भाग आफ्नै रुचिअनुसार गुलाबी रङले सजाएपछि उनी आलोचनामा परेकी थिइन्। अनुभवहीन किशोरीको संज्ञा दिइए पनि उनले त्यसलाई सहज रूपमा सामना गरिन्।
जेलदेखि पुनरागमनसम्म
दुई छोरीकी आमा केइको सन् २०१८ मा चुनावी फन्डिङ र मनी लाउन्डरिङसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परिन्। जेलमा रहँदा उनले आफ्ना छोरीहरूलाई नियमित रूपमा पत्र लेख्दै अध्ययनमा ध्यान दिन, आत्मविश्वास कायम राख्न र परिवारप्रति जिम्मेवार बन्न प्रेरित गर्थिन्।
ती पत्रहरू छोरीहरूका लागि प्रेरणाको स्रोत मात्र बनेनन्, स्वयं केइकोका लागि पनि कठिन समय पार गर्ने मानसिक आधार बने।
रिहाइपछि उनी पुनः राजनीतिक मैदानमा फर्किइन्। लामो संघर्ष, विवाद र चुनौतीबीच उनले आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्दै नयाँ अध्याय सुरु गरेकी छन्।
(अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा)