सुनमा एकैदिन ४ हजार ७०० रुपैयाँको उछाल, प्रतितोला मूल्य २ लाख ८३ हजार ८०० पुग्यो

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ ११:११

काठमाडौं / नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य उकालो लागेसँगै त्यसको प्रभाव स्वदेशी बजारमा पनि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेर २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको सुन एकैदिन उल्लेख्य दरले महँगिएको हो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले वृद्धि भएको छ। शुक्रबार ४ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ३२५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस ४ हजार ८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति, अमेरिकी डलरको उतारचढाव तथा विश्व आर्थिक अवस्थाको प्रभावका कारण आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा थप उतारचढाव देखिन सक्ने अनुमान गरिएको छ।