प्रचण्डको आह्वान: कम्युनिस्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ १६:३१

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै कम्युनिस्ट शक्तिबीच सहकार्य र एकतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नभए पनि कार्यगत सहकार्य भने ढिलाइ नगरी सुरु गर्नुपर्ने धारणा व्यक्त गरे। विचार मिल्ने शक्तिहरूबीच सहकार्य आजै सम्भव भए आजै, नभए भोलिसम्म पनि ढिलाइ नगरी अघि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रचण्डले केही नेताहरूले पार्टी एकताको विषयलाई गलत ढंगले बुझेको उल्लेख गर्दै अहिलेको आवश्यकता संगठनात्मक एकताभन्दा पनि साझा मुद्दामा सहकार्य रहेको स्पष्ट पारे।

उनले वर्तमान सरकारले संविधानका आधारभूत मूल्य–मान्यता तथा उत्पीडित समुदायका अधिकारमाथि हस्तक्षेप गर्न खोजिरहेको आरोप लगाए। संविधानको रक्षा र लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि कम्युनिस्ट शक्तिहरूको बलियो एकता आवश्यक रहेको उनको भनाइ थियो।

विश्वका विभिन्न मुलुकमा कम्युनिस्ट आन्दोलनमाथि दबाब सिर्जना गरिएको उल्लेख गर्दै प्रचण्डले नेपालमा पनि कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे। उनले विगतका केही आन्दोलन र निर्वाचनलाई समेत त्यसैको निरन्तरता भएको दाबी गरे।

राष्ट्रिय स्वाधीनताको रक्षा, बाह्य हस्तक्षेपको प्रतिरोध र लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि देशभक्त तथा वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उनले बताए। साथै, जननेता मदन भण्डारीप्रति सच्चा सम्मान व्यक्त गर्ने माध्यम पनि कम्युनिस्ट शक्तिहरूको साझा प्रयास र एकता नै हुने उनको भनाइ थियो।