‘संघीयता खारेजको प्रस्ताव जनमतमाथिको धोका’ — वर्षमान पुनको रास्वपामाथि कडा टिप्पणी

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ १८:५३

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयतासम्बन्धी अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी, असान्दर्भिक र जनमतविपरीत भएको बताएका छन्।

आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पुनले निर्वाचनका बेला रास्वपाले देशभर संघीयता सुदृढ गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले महाधिवेशनमार्फत प्रदेश संरचना खारेज गर्ने प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको बताए।

उनले रास्वपाभित्र नै वैचारिक स्पष्टताको अभाव रहेको दाबी गर्दै सभापतिको प्रस्तावमा संविधान र संघीयताप्रति प्रतिबद्धता देखिए पनि उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजको विषय आउनुले पार्टीभित्र वैचारिक द्वन्द्व र अपरिपक्वता रहेको संकेत गरेको बताए।

पुनले संघीयता र लोकतन्त्र हजारौँ नागरिकको बलिदानबाट स्थापित भएको व्यवस्था भएकाले त्यसलाई कमजोर पार्ने वा विवादमा तान्ने प्रयास नगर्न रास्वपालाई चेतावनी दिए।

उनले रास्वपाले नयाँ राजनीतिक संस्कारको दाबी गरे पनि पछिल्ला अभिव्यक्ति र गतिविधिले लोकप्रियतावाद र राजनीतिक अपरिपक्वता मात्र झल्किएको आरोप लगाए।