स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित गर्ने प्रस्ताव स्वीकृत, ‘स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउँछ’ : मन्त्री मेहता

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ १९:०४

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकले प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्दै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेकी छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त विधेयकले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूको नियुक्ति प्रक्रिया थप पारदर्शी र व्यवस्थित बनाउने बताइन्।

छलफलपछि ‘विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ।

विधेयकमाथिको छलफलमा सांसद अभिषेकप्रताप शाह, पारशमणि गेलाल, विश्वराज पोखरेल, आरेन राई, समीक्षा बास्कोटा, अशोककुमार चौधरी तथा साजिदा खातुन सिद्धिकीले भाग लिँदै स्वास्थ्य क्षेत्रलाई जनमुखी, प्रभावकारी र पारदर्शी बनाउन विधेयक महत्त्वपूर्ण हुने धारणा राखेका थिए।

यसैबीच, प्रतिनिधिसभाले पूर्वसांसद राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। नेपाली कांग्रेसका तर्फबाट २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित खरेल पूर्वशिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीसमेत थिए।

८० वर्षको उमेरमा उपचारका क्रममा असार ७ गते निधन भएका खरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै सभाले शोक प्रस्ताव पारित गरेको हो। प्रतिनिधिसभाको अर्को बैठक असार १८ गते बिहान ११ बजे बस्नेछ।