फ्रान्समा स्काइडाइभिङ विमान दुर्घटना, पाइलटसहित ११ जनाको मृत्यु

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ १९:१४

पेरिस– उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार भएको सानो नागरिक विमान दुर्घटनामा पाइलटसहित ११ जनाको मृत्यु भएको छ।

न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फ्रान्सेली टेलिभिजन बिएफएमटिभीका अनुसार दुर्घटनामा एक जना पाइलट र १० जना स्काइडाइभरको ज्यान गएको हो।

दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले घटनाको समन्वय तथा उद्धार कार्यका लागि विभागीय सञ्चालन केन्द्र तत्काल सक्रिय पारिएको जानकारी दिएका छन्।

उद्धार तथा आपतकालीन सेवाका सबै निकाय परिचालन गरिएको छ। साथै राष्ट्रिय प्रहरीले उद्धार कार्यमा अवरोध नहोस् भन्ने उद्देश्यले सर्वसाधारणलाई दुर्घटनास्थलमा नजान र उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।