Breaking Nepal

काठमाडौं। सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा देशभर धान रोपाइँको गति अपेक्षाभन्दा निकै सुस्त देखिएको छ। असार १४ सम्म मुलुकभर कुल धानखेती हुने क्षेत्रफलको १२.०७ प्रतिशत अर्थात् एक लाख ६६ हजार ९०३ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको सरकारी तथ्यांकले देखाएको छ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार नेपालमा धानखेती हुने कुल क्षेत्रफल १३ लाख ८२ हजार २६२ हेक्टर रहेको छ। गत वर्ष यही अवधिमा १५.६२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो। यस वर्षको प्रगति तुलनात्मक रूपमा कमजोर देखिनुको प्रमुख कारण पर्याप्त वर्षा नहुनु र मनसुन सक्रिय हुन नसक्नु रहेको केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार मनसुन नेपाल प्रवेश गरिसके पनि अझै पूर्ण रूपमा सक्रिय हुन सकेको छैन। अधिकांश किसान अझै पनि आकाशे पानीमा निर्भर रहेकाले पर्याप्त वर्षा नहुँदा खेतमा रोपाइँ अघि बढ्न सकेको छैन। उनका अनुसार हाल देखिएका मौसमी संकेत र समुद्री सतहको अवस्थाले साउन महिनामा समेत औसतभन्दा कम वर्षा हुन सक्ने सम्भावना देखाएका छन्।
यसपटक पूर्वी नेपालभन्दा पश्चिमी क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा भएको छ। धान उत्पादनको मुख्य आधार मानिने मधेश प्रदेशमा धेरै किसान अहिले पनि ब्याड (नर्सरी) तयार गर्ने चरणमै रहेका छन्। त्यसैले असार १५ पछिमात्र रोपाइँको वास्तविक अवस्था स्पष्ट हुने देवकोटाको भनाइ छ।
प्रदेशगत विवरण हेर्दा गण्डकी प्रदेश सबैभन्दा अगाडि देखिएको छ। त्यहाँ कुल धानखेती क्षेत्रफलको २३.६८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय सुधार हो। कर्णाली प्रदेशमा २२.८१ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
लुम्बिनी प्रदेशमा २०.८० प्रतिशत, बागमतीमा १२.५९ प्रतिशत, सुदूरपश्चिममा ९.२६ प्रतिशत र कोशी प्रदेशमा ८.२५ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांक छ। सबैभन्दा कमजोर अवस्था मधेश प्रदेशको रहेको छ, जहाँ कुल खेतीयोग्य क्षेत्रफलको ५.०१ प्रतिशतमा मात्र धान रोपिएको छ।
विशेषगरी सुदूरपश्चिम र कोशी प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष रोपाइँ उल्लेखनीय रूपमा घटेको देखिएको छ। बागमती र कर्णालीमा पनि प्रगति गत वर्षभन्दा कमजोर छ भने गण्डकी र लुम्बिनीमा भने सुधार देखिएको छ।
जलवायु परिवर्तनका कारण पछिल्ला केही वर्षदेखि असारको मध्यसम्म पनि पर्याप्त वर्षा नहुने प्रवृत्ति बढ्दै गएको केन्द्रको निष्कर्ष छ। यसले धान रोपाइँको परम्परागत चक्रमा प्रत्यक्ष असर पार्न थालेको कृषि विज्ञहरूको भनाइ छ।
यसैबीच सरकारले असार १५ गते २३औँ राष्ट्रिय धान दिवस मनाउँदैछ। कृषि विभागका अनुसार मुलुकका करिब २७ लाख ६५ हजार कृषक परिवार धानखेतीमा आबद्ध छन्। नेपालको कुल गार्हस्थ्य उत्पादनमा धान क्षेत्रको योगदान करिब दुई खर्ब रुपैयाँ बराबर रहेको छ।
पछिल्ला पाँच वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.५० मेट्रिक टनबाट बढेर ४.१९ मेट्रिक टन पुगेको भए पनि देशको वार्षिक करिब ७० लाख मेट्रिक टन धानको आवश्यकतामध्ये अझै झण्डै १० लाख मेट्रिक टन उत्पादन अपुग रहेको सरकारी तथ्यांकले देखाएको छ। यस्तो अवस्थामा मनसुनको अनिश्चितता र सिँचाइ पूर्वाधारको सीमितताले धान उत्पादनमा थप चुनौती सिर्जना गर्ने संकेत देखिएको छ।