स्थापना दिवसमा परिसंघ कोशीको सामाजिक कार्य : वृक्षारोपणदेखि अपांग बालकलाई ह्वीलचेयर र रक्तदानसम्म

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ २१:२३

विराटनगर / नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले आफ्नो स्थापना दिवस विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाएको छ । वातावरण संरक्षण, सामाजिक सहयोग र मानवीय सेवालाई प्राथमिकतामा राख्दै परिसंघले वृक्षारोपण, फरक क्षमता भएका बालकलाई ह्वीलचेयर वितरण तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

स्थापना दिवसको अवसरमा परिसंघले धरान–विराटनगर सडकअन्तर्गत बरगाछीस्थित डिभाइडरमा निर्माण तथा संरक्षण गर्दै आएको ‘सीएनआई वाटिका’मा वृक्षारोपण र संरक्षण अभियान सञ्चालन गरेको छ । कार्यक्रममा वाटिकाभित्र रहेका बिरुवाको गोडमेल, तारबार मर्मत, सूचना बोर्डको पुनःरङरोगन तथा धुपीका नयाँ बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको परिसंघले जनाएको छ । कार्यक्रममा परिसंघका पदाधिकारीहरूले वृक्षारोपणमा सक्रिय सहभागिता जनाएका थिए ।

यसै अवसरमा मोरङको कटहरी गाउँपालिका–१ जम्टौकी निवासी सात वर्षीय फरक क्षमता भएका बालक सुवान चौधरीलाई आधुनिक ह्वीलचेयर हस्तान्तरण गरिएको छ । शारीरिक अवस्थाका कारण विद्यालय आउजाउ गर्न कठिनाइ भोगिरहेका बालकका लागि आवश्यक ह्वीलचेयर परिवारको पहुँचभन्दा बाहिर रहेको जानकारीपछि परिसंघले सहयोग उपलब्ध गराएको महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।

परिसंघका अध्यक्ष पवनकुमार सारडा, संस्थापक अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्डडा, कार्यक्रम संयोजक दीपक पौडेललगायत पदाधिकारीले बालकका अभिभावकलाई ह्वीलचेयर हस्तान्तरण गरेका थिए । सहयोग प्राप्त भएपछि बालककी आमाले अब छोरालाई नियमित विद्यालय पठाउन सहज हुने विश्वास व्यक्त गर्दै परिसंघप्रति आभार व्यक्त गरिन् ।

स्थापना दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा परिसंघको सचिवालय परिसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा परिसंघका पदाधिकारी, सदस्य, उद्योग प्रतिष्ठानका कर्मचारी तथा शुभेच्छुकहरूको सहभागितामा २८ पिन्ट रगत संकलन गरी रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको परिसंघले जनाएको छ ।

तीनवटै कार्यक्रम परिसंघको सचिवालय परिसरमा सम्पन्न भएका हुन् । औपचारिक कार्यक्रम परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष भीम घिमिरेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

परिसंघ कोशीले गरेका कार्यक्रमका तस्बिरहरू–