घोडेपानी–पुनहिलमा पर्यटन पूर्वाधार विस्तार, साइकल मार्ग देखि बसपार्कसम्म निर्माण

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ ०९:०९

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य  घोडेपानी–पुनहिलमा पर्यटन पूर्वाधार विस्तार गरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय तथा बसपार्क निर्माण सम्पन्न भएको हो।

अन्नपूर्ण गाउँपालिकाले २७ लाख र गण्डकी प्रदेश सरकारले पाँच लाख रुपैयाँ विनियोजन गरी विभिन्न पूर्वाधार निर्माण गरेको हो। वडाध्यक्ष रामबहादुर खड्काले पर्यटकको बसाइ लम्ब्याउने र सहायक पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले योजना कार्यान्वयन गरिएको बताए।

गाउँपालिकाको ६ लाख रुपैयाँ बजेटबाट पुनहिलदेखि लुङलुङ सिद्ध, लालीगुराँस पार्क हुँदै घोडेपानीको फलेघर जोड्ने चार किलोमिटर साइकल मार्ग निर्माण गरिएको छ। समुद्री सतहदेखि ३,२१० मिटर उचाइमा रहेको पुनहिलबाट गुराँसे जङ्गल हुँदै हिमालको दृश्यावलोकनसहित साहसिक साइकल यात्रा गर्न सकिने भएको छ।

त्यस्तै, १४ लाख रुपैयाँ बजेटबाट लालीगुराँस पार्क जोड्ने पदमार्ग, प्रवेशद्वार र सार्वजनिक शौचालय निर्माण गरिएको छ। हिलो हुने करिब ३०० मिटर पदमार्ग ढलान गरी पक्की बनाइएको उपभोक्ता समितिले जनाएको छ।

यसैगरी देउराली डाँडामा ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको छ भने तल्लो घोडेपानीमा बसपार्क पनि बनाइएको छ। गण्डकी प्रदेश सरकारको पाँच लाख रुपैयाँबाट घोडेपानी–घान्द्रुक पदमार्ग निर्माण सम्पन्न भएको छ भने चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम पनि जारी छ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख आकर्षण मानिने घोडेपानी–पुनहिलबाट गुर्जा, पुथा, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। स्थानीय तहले थप पर्यटक आकर्षित गर्न नयाँ साइकल मार्ग र अन्य पर्यटन पूर्वाधार विस्तारलाई निरन्तरता दिने जनाएको छ।